


हुम्ला, १० असार : नेपालगन्जबाट हुम्लाका लागि उडेको तारा एअरको डोर्नियर विमान आज बिहान हुम्ला विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। रनवेमा चिप्लिएर दुर्घटना भएपछि विमानको पखेटा र तल्लो भागमा क्षति पुगेको बताइएको छ। खाद्य संस्थानको चामल लिएर उडेको सो विमानमा रहेका चालक दलका तीन जनै सदस्य सकुशल छन्। विमानमा क्याप्टेन डीआर निरौलाको नेतृत्वमा चालक दलका सदस्य थिए।
यसैबीच हिजो साँझ बुद्ध र यति एअरलाइन्सका दुई जहाज आकासमै ठोक्किएर भयंकर दुर्घटना हुनबाट जोगिएका छन्। काठमाडौंबाट भैरहवा जाँदै गरेको बुद्ध एअरको एटिआर र भैरहवाबाट काठमाडौं आइरहेको यतिको जेटस्ट्रिम जहाज भैरहवाभन्दा अलिकति वर आपसमा जुध्ने अवस्था सिर्जना भएको थियो।
दुवै जहाजलाई १० हजार ५ सय फिटको उचाइमा उडाउन स्वीकृति दिएर भैरहवा
विमानस्थल, एअर ट्राफिक कन्ट्रोलरले लापरवाही गरेको स्रोतले बतायो।
स्रोतका
अनुसार भैरहवा पुग्न ३० माइल बाँकी छँदा बुद्ध र यतिका जहाजबीच झन्डै चार
माइल फरक थियो। टावरले एउटालाई तल झर्न र अर्कोलाई माथि जान निर्देशन
दिनुपर्नेमा कुनै निर्देशन नदिएर लापरवाही देखाएको एक पाइलटले बताए।
त्यतिखेर बुद्ध एअर ४ सय ५० किलोमिटर प्रतिघन्टा र यति ३ सय किमी
प्रतिघन्टाको गतिमा रहेको अनुमान छ।
'एउटै लेभलमा दुई जहाज आएको अवस्थामा दुवै जहाज आ-आफ्नो दिशाबाट दायाँ लाग्नुपर्छ,' एक निजी वायुसेवाका क्याप्टेनले भने। यतिले भने आफ्नो लेभल र दिशा परिवर्तन नगरेपछि बुद्ध एअरले बायाँतिर मोडेको स्रोतले बतायो।