


धनकुटा , २४ असार : सप्तकोसी नदीबाट हुने समस्या समाधान गर्न नेपाल र भारतीय अधिकारीबीच सात बुँदे सहमति भएको छ। जसअनुसार पुनर्निर्माणको काम छिटो गर्ने, कोसी नदीबाट हुने आपतकालीन र दीर्घकालीन समस्या दुवै पक्षका प्राविधिक बसेर समाधान गर्न पहल गर्ने, सुरक्षा व्यवस्था मिलाउने आदि छन्।
धनकुटाको भेडेटारमा शुक्रबार भएको बैठकमा दुवै देशका अधिकारीबीच भारतीय पक्षबाट अहिले भइरहेको पुनर्निर्माणको काम छिटो गर्ने, कोसी नदीबाट हुने आपतकालीन र दीर्घकालीन समस्या दुवै पक्षका प्राविधिक बसेर समाधान गर्न पहल गर्ने, भारतीय पक्षबाट गर्दै आएको पुनर्निर्माणको काममा खटिएका मजदुर र कोसी व्यारेजमा नेपाली पक्षबाट पूर्णरुपमा सुरक्षाको व्यवस्था गर्ने सहमति भएको छ।
यस्तै, कोसी व्यारेजमा पानीको बहाव बढेको समयमा माछा मार्ने र काठ सङ्कलन गर्नेको सङ्ख्या बढ्दा मानवीय जोखिम बढेकाले त्यसलाई नियन्त्रण गर्ने, भारतीय पक्षबाट २४ घण्टै पूर्वी तटबन्ध क्षेत्रको निगरानी गर्ने एवम् सावधानी अपनाउने, भारतीय क्षेत्रमा हुने निर्माण हुने कामका लागि नेपाली पक्षले निर्माण सामग्री उपलब्ध गराउन सहजता प्रदान गर्ने र दुवै देशका अधिकारीबीच आपसी छलफल, संवाद र सहयोगका माध्यमबाट शान्ति–सुरक्षा कायम राख्ने सहमति पनि भएको छ।