


स्याङ्जा, १२ साउन : स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ राङखोलामा डेरामा बस्दै आएका एक जोडीले आज ज्यान गुमाएको छ । धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरिसकेपछि श्रीमान्ले पनि आफ्नै घाँटी रेटी आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । बाग्लुङ जिल्ला स्थायी घर भएका २८ वर्षीय श्याम क्षेत्रीले २१वर्षीया श्रीमती रीतालाई हत्या गरेपछि आपूmले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।
आत्महत्या गरेका श्यामले करिब दुई महिना अगाडि मात्र स्याङ्जा वालिङ नगरपालिका–१ की रीतासँग विवाह गरेको बताइएको छ ।
मृतकद्वयको शव जिल्ला अस्पतालमा परीक्षण गरिएको छ । सो घटनामा प्रयोग भएका सामग्री प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
यसैबीच स्याङ्जाबाट पोखरातर्फ जाँदै गरेको लु १ ख २७२८ नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार ट्रकले एकै दिशाबाट गएको ग२प ५३१३ नम्बरको मोटरसाइकललाई फेदीखोला–१ बडाचौरमा ठक्कर दिँदा मोटरसाइकलमा सवार फेदीखोला गाविस–९ डाँडागाउँ निवासी २२वर्षीय चित्रबहादुर केसीकोे मृत्यु भएको हो ।
दुर्घटनामा स्याङ्जा, अर्जुनचौपारीकी १६ वर्षीया एलिना गोदार गम्भीर घाइते भएकी छिन् । उनको पोखरास्थित चरक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।