


अर्घाखाँची, २३ साउन : अर्घाखाँचीको जलुके गाविसमा सिकार खेल्न जङ्गलमा गएको बेला आफ्नै साथीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ । जलुके गाविस–५ बुढीदमारको जङ्गलमा सिकार खेल्न गएको बेला टङ्कबहादुर पुनले मृग भनेर चलाएको गोली लागेर आफ्नै साथी स्थानीय ५२ वर्षीय डालबहादुर कुमाल (के एम) को ज्यान गएको हो ।
सिकार खेल्न गएको समयमा आफ्नै साथीको मृग भनेर गोली चलाउँदा मृत्यु भएको गोली चलाउने पुनले स्थानीय बासिन्दासमक्ष स्वीकारेको स्थानीय बासिन्दाले बताएका छन् । हत्या गर्ने पुन फरार भएका छन् । अर्घाखाँची, प्युठान र दाङको सिमाना तथा विकट गाउँमा घटना भएकाले समाचार आज दिउँसोमात्र प्राप्त भएको हो ।
घटनाको बारेमा जानकारी लिन इलाका प्रहरी कार्यालय ठाडाको एक टोली घटनास्थलतर्फ गएको तर घटनाको बारेमा आधिकारिक जानकारी नआइसकेको प्रहरी नायब उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।