


रसुवा, २८ साउन : रसुवा जिल्लाको निलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्ने भक्तजनको आगमनमा कमी आएको छ ।यस वर्षको एकादशीदेखि जनैपूर्णिमासम्म २० हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अपेक्षा राखिए तापनि लगभग चारपाँच हजारको हाराहारीमा आगमन भएको अनुमान गरिएको छ । एकातर्फ यही साउन ७ गतेदेखि शुक्र अस्त भएको र अर्कातर्फ मध्यवर्षात्बाट मूलखर्क एवं फूलखर्कको पहिरोले काठमाडौँ¬–धुन्चे सिधा यातायात बन्द भएका कारण गोसाइँकुण्डकाा यात्रु घटेको विश्लेषकले बताएका छन् ।
शुक्रअस्त भएको अवस्थामा तीर्थव्रत गर्न नहुने बताइएकाले भक्तजनको सङ्ख्या ह्वात्तै घटेको बताइएको छ । आगामी असोज ३ गतेदेखि तीर्थ जाँदा पुण्य मिल्ने भएकाले गोसाइँकुण्ड पुगन प्रबल इच्छा भएका भक्तजनलाई सोही दिनदेखि धार्मिक यात्रा सुरु गर्न सबै भक्तजनमाझ आग्रह गरिएको स्थानीय पुरोहित धर्मागत पाण्डेले जानकारी दिनुभयो ।