


बर्दिया, १५ भदौ : थरुहट तराई पार्टी नेपालले गरेको आमहड्तालका कारण तराईका २४ जिल्लाका जनजीवन प्रभावित बनेको छ । आमहड्तालको पहिलो दिन बर्दिया, बाँके, कैलाली, दाङ, सुर्खेतलगायत तराईका २४ जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा नआएको प्रहरीले जनाएको छ । आमहड्तालका कारण यस क्षेत्रका शिक्षण संस्था, कलकारखाना र बजार बन्द रहेका छन् ।
संविधानसभाको खारेजी, ताजा जनादेशका लागि आमनिर्वाचन, सरकारसँग भएको पाँचबुँदे सहमतिको कार्यान्वयन, थरुहट पार्टीका नेता तथा कार्यकर्तामाथि लगाइएका झुटा मुद्दाको खारेजी र कोहलपुरमा उपचारको क्रममा बच्चाको आँखा झिक्नेलाइ कारबाही र पीडितलाई क्षतिपूर्तिलगायतका माग राखी बिहीबार र शुक्रबार दुईदिने आमहड्तालको कार्यक्रम राखिएको थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य कन्हैयालाल चौधरीले बताउनुभयो ।
संविधानसभाको म्याद पटकपटक थप्ने कार्यले शान्ति प्रक्रिया र संविधान निर्माणको कार्य पूरा नहुने भएकाले ताजा जनादेशका लागि आमनिर्वाचनमा जानुको विकल्प नरहेको चौधरीले बताउनुभयो ।
प्राप्त अर्को समाचार अनुसार बिहीबार बिहान दाङको तुलसीपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको स्यान्ट्रो कार अमिलिया जङ्गलनजिक बन्दकर्ताहरुले तोडफोड गरी आगजनीसमेत गरिदिएका छन् ।
बन्द अवज्ञा गरेका कारण कारमा आगजनी गरिएको थरुहट तराई पार्टी नेपालका घनश्याम चौधरीले जानकारी दिनुभयो ।