


सल्यान, २७ भदौ : सल्यानको पश्चिमी क्षेत्रमा रहेको सल्लीबजार जाजरकोट सडकखण्डलाई जोड्ने भेरी नदीको फेरी सञ्चालन नहुँदा सल्यान, सूर्खेत जाजरकोट र डोल्पाका जनता मर्कामा परेका छन् । भेरी नदीमा पानीको सतहमा कमी नआएपछि फेरी चल्न नसकेको हो । वर्षायाममा पानीको सतह बढेकाले गएको तीन महिनादेखि फेरी बन्द भएको फेरी सञ्चालकहरुले बताएका छन् ।
सल्यानको सल्लीबजारदेखि जाजरकोट, डोल्पालगायतका क्षेत्रमा जाने सवारी साधन तथा यात्रुहरुलाई नदीपार गराउन फेरीको प्रयोग गरिँदै आएको छ । भेरी नदीमा पुल नहँुदा सञ्चालन भएको फेरी बन्द हुँदा नजिकिँदै गरेका चाडपर्वमा सो क्षेत्रको बजार भाउ आकासिएको छ ।
भेरी नदीमा पुलनिर्माण हुन लागेको छ वर्ष बितिसक्यो तर पुल निर्माण नहुँदा वर्षाैंदेखि यो समस्या भोक्दै आएका छौं स्थानीयवासी तिलक परियारले भने— ‘२०६२ सालमा निर्माण कार्य सुरु भएको पुलको काम अहिलेसम्म एक भाग पनि सकिएको छैन, यसतर्फ कसैले चासो दिँदैनन् त्यसकारण पनि हामीले सास्ती भोग्दै आएका छौँ ।’
फेरी बन्द भएकै कारण सल्लीबजारबाट जाजरकोट, डोल्पा लैजाने विभिन्न खाद्यान्न सामग्री सल्लीबजारमा थन्किएको स्थानीयवासी खडक आचार्यले बताए ।
फेरी बन्द भएकै कारण कालोबजारी पनि हुन थालेको छ । स्थानीय व्यापारीले चर्को मूल्यमा उपभोक्तालाई सामग्री बेच्ने गरेका छन् ।