


धादिङ, ३१ भदौ : धादिङको महादेवस्थान( २ शिन्थली चेपाङवस्तीमा रहेको प्रजा प्राथमिक विद्यालयमा तीनवटा कक्षाका विद्यार्थी एउटै कक्षामा कोच्चिएर पढ्न बाध्य छन् ।चार शिक्षक र १२४ विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा कक्षा १ मा ४०, कक्षा २ मा २४, कक्षा ३ मा १८, कक्षा ४ मा १० र कक्षा ५ मा १० जना रहेका छन् । कक्षा ३, ४ र कक्षा ५ लाई एउटै कोठामा राखेर अध्यापन गराइरहेको विद्यालयले जनाएको छ ।
भौतिक पूर्वाधारको हिसाबले पनि सो विद्यालय भवन अत्यन्त जीर्ण रहेकाले दुर्घटना हुनसक्ने स्थानीय बासिन्दाको भनाइ छ ।
हिउँदमा समेत तर्न नसकिने ताल्ती र शिन्थलीको बीच भएर बग्ने मलेखु खोलामा ताल्ती र शिन्थली जोड्ने पुल नहुँदा स्थानीय जनतासँग चेपाङ समुदायका बालबालिका मारमा परेका छन् ।
उनीहरुलाई कक्षा ५ सम्म प्रजा प्राथमिक विद्यालयमा पढी माध्यमिक शिक्षाका लागि खोला पारीको पिपल भन्ज्याङ माविमा जानुपर्ने बाध्यता रहेको छ ।
तर, खोला तर्न नसक्नाले आफूहरू माध्यमिक शिक्षा लिनबाट वञ्चित भएको उनीहरूको भनाइ छ ।