


जुम्ला, ५ असोज : आमाबाबु अधिकारका कुरा गर्न सधैँजसो गोष्ठी र सेमिनारमा जान्छन् तर तिनका छोराछोरीलाई भने विद्यालय छाडेर गाईबाख्रा चराउन गोठालो जानुपर्दछ । जिल्लाको सिंजा क्षेत्रका बालबालिका आमाबाबु गोष्ठीमा नगएमात्र विद्यालय जान पाउँछन् । जिल्ला सदरमुकामदेखि १९ कोष टाढा पर्ने सिंजा क्षेत्रमा एक दर्जन बढी गैरसरकारी संस्था क्रियाशील छन् । त्यसैले गाउँका अधिकांश घरपरिवारका सदस्य कुनै न कुनै संस्था वा समूहमा आबद्ध छन् ।
स्थानीय रोकायावाडा प्राथमिक विद्यालयकी शिक्षिका चन्द्रा रोकायाका अनुसार गाउँका अधिकांश मानिस विभिन्न आमा समूह, महिला समूह, सामुदायिक संस्थाहरु, किसान समूह, ऊर्जा कार्य समूहलगायतका समूहमा आबद्ध छन् ।
उनी भन्छिन्– “सबै समूह वा संस्थाका कार्यक्रमहरु महिनामा चार–पाँचपटक परिरहेकै हुन्छन् । यस्ता कार्यक्रम हुँदा अभिभावकहरु बालबालिकालाई गाईबाख्रा र घरको काम जिम्मा लगाएर अधिकारका कुरा गर्न सदरमुकाम जान्छन् ।”
रोकायाका अनुसार गाउँका टाठाबाठाले त धेरै संस्थाका जिम्मेवारी लिएका हुन्छन् र महिनौँसम्म कार्यक्रममा जान्छन् तर आफ्ना छोराछोरी पढ्ने अधिकार दिनुपर्दछ भनेर बुझ्दैनन् ।
आफ्नो विद्यालयमा लगभग १५० विद्यार्थी भएका र अभिभावक कार्यक्रममा गएका बेला ५० प्रतिशत विद्यार्थी विद्यालय नआउने गरेको उनले बताइन् ।
कनकासुन्दरी उच्च माध्यामिक विद्यालय लुड्कूका प्रधानाध्यापक दीपक आचार्य अभिभावकहरु अन्य फाइदाका लागिभन्दा पनि भत्ता पाइने लोभले कार्यक्रममा सहभागी हुने गरेको बताउँछन् ।
गैरसरकारी संस्थाले अधिकारका बारेमा जति कुरा सिकाए पनि कर्तव्यका बारेमा केही पनि नसिकाएको उनको आरोप छ । उनले भने– “आमाबाबुको कार्यक्रममा उपस्थित हुने जति अधिकार छ, त्यति नै अधिकार बालबालिकालाई विद्यालय जाने पनि छ ।”
स्थानीय पदम नेपालीले गोष्ठीमा जाँदा आउने भत्ताले घर खर्च चल्ने भएका कारण आफूहरुले त्यसो गर्ने गरेको बताए ।
ग्रामीण समूह विकास कार्यक्रम, जुम्लाका कार्यक्रम संयोजक प्रकाशचन्द्र खत्री एउटाको अधिकारका नाममा अर्काको अधिकार हनन् गर्नु ठूलो अपराध हुने उल्लेख गर्दै अभिभावक त्यसप्रति सचेत हुनुपर्ने बताउनुहुन्छ ।
गैरसरकारी संस्था महासङ्घ जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डे त्यस्तो कुरा आफूले पनि सुनेको बताउँदै त्यो सही हो भने गैरसरकारी संस्थाले आफ्नो प्रवृत्तिमा सुधार ल्याउनुपर्ने बताउनुहुन्छ । त्यसका लागि आवश्यक रणनीति बनाउन आफ्नो संस्थाले सहजीकरण गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।