


दोलखा, ५ असोज : दोलखा जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी तीनजनाको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका–१२ मकैबारीमा गुडिरहेको बसबाट खसेर एक पूर्व सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सो नगरपालिका–१३ साखिनेका अन्दाजी ५० वर्षीय प्रेमबहादुर बस्नेत रहेका छन् ।
सिङ्गटीबाट काठमाडौँ जाँदै गरेको अरनिको यातायातको बा.२ख ६०३२ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका बस्नेतको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।
यस्तै चट्याङ लागेर दोलखाको लाकुरीडाँडा गाविस–९ मा एकजनाको मृत्यु भएको छ ।
लाकुरीडाँडा गाविस–९ का ५८ वर्षीया निमापासाङ शेर्पाको सुतिरहेको अवस्थामा गएराति मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।
यसैगरी दोलखाकै बोच गाविस–४ का ६० वर्षीय नरबहादुर फुँयालको पनि रहस्यमय मृत्यु भएको छ ।
सो गाविसको वडानम्बर–५ स्थित हिलेडाँडामा रहेको आफ्नै गोठमा गम्भीर अवस्थामा भेटिएका फुँयालको सदरमुकाम चरिकोटस्थित च्छो–रोल्पा अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो ।
परिवारजनका अनुसार मकै चोरेको भन्दै हिजो साँझ स्थानीय गणेश तामाङ र फुँयालबीच झगडा परेको थियो ।
मृतक फुँयालका छोरा भीमसेनले नरबहादुरको आँखा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेकाले कुटपिटकै कारण बुबाको मृत्यु भएको दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, दोलखाले फुँयालको मृत्युबारे अनुसन्धान भइरहेको जनाएको छ ।