


गाईघाट, २० असोज : उदयपुरको जोगीदह गाविस क्षेत्रमा अहिले धानबालीमा पहेँले रोग लाग्न थालेपछि स्थानीय किसान निकै चिन्तित् बन्न थालेका छन् । यस वर्ष मौसम राम्रो भई धान निकै उत्पादन हुने आशा गरिरहेको अवस्थामा धानको बोटमा पहेँलो रोग देखिन थालेपछि किसान चिन्तित् बन्न थालेका हुन् । जोगीदह क्षेत्रको रुपनी, सोमबारे तथा मोथ्याइ क्षेत्रमा यस्ता रोगहरु देखिन थालेका हुन् ।
मोथ्याईका रुपलाल चौधरीका अनुसार सुरुमा धानको बोटका पातहरु पहेँलो हुने र पछि सम्पूर्ण बोटनै पहेँलो हुने गरेको छ ।
धानको बोट पहेँलो हुने रोग अहिले विस्तारै सो क्षेत्रबाट अन्यत्र फैलिन थालेको जोगीदह बरगाछीका अग्निधर खनाल बताउँछन् । पोहोर पनि पहेँले गभारोले धान सखाप बनाएको र यस पटक पनि उस्तै रोग देखा परेको खनालको गुनासो रहेको छ ।
दसैँको बेलामा जिल्ला कृषि विकास कार्यालयमा कर्मचारी नभएकाले आफ्नो गुनासो सम्बन्धित निकायमा राख्न नपाएको जोगीदह बरगाछीका अर्का किसान कुमार ढकाल बताउँछन् ।
प्रायः प्रत्यक वर्ष यस क्षेत्रमा धानबालीमा विभिन्न रोग लाग्दै आएको किसानहरुको भनाइ छ । कुनै वर्ष धानको बोटमा डढुवा रोग देखा पर्ने गरेको देखिन्छ भने यस पटक धानको बोटमा पहेँले रोग देखा परेको स्थानीय किसानको गुनासो रहेको छ ।
जिल्ला कृषि विकास कार्यालयले यस वर्ष उदयपुरमा विगतको भन्दा १० प्रतिशत बढी धान उत्पादन हुने अपेक्षा गरेको थियो ।