


म्याग्दी– शरद ऋतुको सुरुआतसँगै म्याग्दीमा पदयात्रा गर्ने पर्यटकको चहलपहल बढेको छ । म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानी, रुप्से, खोप्रा लेक, राउन्ड धौलागिरि र ढोरपाटन सिकार आरक्ष जाने पर्यटकको चहलपहल बढेको हो । चिन, भारत, अमेरीका, बेलायत, जर्मन, इङगल्याड, कोरियालगायत देशभित्रका विभिन्न सहरबाट पर्यटकहरु अवलोकन भ्रमणका लागि जिल्ला आउने गरेका छन् । बेनी, घोरेपानी, दानालगायत म्याग्दीका नाकाबाट दैनिक सँयौ विदेशी पर्यटक पर्यटकीयस्थलको भ्रमणका लागि आउने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
घोरेपानीको नाकाबाट अहिले दैनिक २०० जनाको अनुपातमा पर्यटक आउने गरिरहेको स्थानीय घोरेपानी होटल व्यवसायी सङ्घका टेकसर बुद्धुजा पुनले बताउनुभयो ।
घोरेपानीका साथै बेनी, सिङ्गा, बाबियाचौर, दरवाङ, ताकम हुँदै दैनिक दर्जनौको सङ्ख्यामा पर्यटक राउन्ड धौलागिरिको पदयात्रामा जाने गरेका छन् ।
शरद र वसन्त ऋतुमा आकाश खुल्ने र वर्षा कम हुने भएकाले भ्रमणका लागि उपयुक्त मानिन्छ ।
बादल हटेपछि हिमऋङखला र अन्य दृष्य अवलोकन गर्न पाउने भएपछि यो सिजनमा बढी पर्यटक भित्रने गरेका घोरेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०६७÷६८ मा ३० हजार जना विदेशी पर्यटकले जिल्लाका पर्यटकीयस्थलको भ्रमण गरेका थिए । पदयात्रामा आएका अधिकांश पर्यटकहरुले सडकमा पैदल हिँड्दा धुँवा र धुलोले प्रभावित बनाएको भन्दै विकल्प खोज्न अनुरोध गरेका छन् ।