


सिन्धुलीमाढी, २ कात्तिक : जिल्ला अनुगमन समिति सिन्धुलीले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । समितिले सदरमुकाम सिन्धुलीमाढीका विभिन्न बजार क्षेत्रका मासुपसल तथा बरफ उद्योगमा छापामारी व्यापारीलाई आवश्यक कारबाही प्रक्रियासमेत अगाडि बढाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
समितिले सिन्धुलीमाढीस्थित गैरीबजारमा सञ्चालन गरेको मासु पसलबाट कुहिन लागेको अवस्थाको ५० किलो मासु बरामद गरी नस्ट गरेको उपभोक्ता मञ्चका अध्यक्ष अच्चुत ढकालले जानकारी दिनुभयो ।
मासु पसल पूरै दुर्गन्धित हुनुका साथै मासु पसलबाट उपभोक्ता ठगिने गुनासोसमेत आएकाले अनुगमनलाई तीव्रता दिएको उल्लेख गर्दै ढकालले मासु पसलमा धेरैजसो ठाउँमा मासु किन्न जाँदा ग्राहक तौलमा समेत ठगिएको पाइएको बताउनुभयो ।
अनुगमनका क्रममा बरफमा अखाद्य केमिकल मिसावट गर्ने पशुपति बरफ उद्योग र मासु व्यापारीलाई आवश्यक कारबाहीका लागि बुधबारदेखि नै दैनिक तारेखमा राखी कारबाही प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वेणिमाधव ज्ञवालीले जानकारी दिनुभयो ।