


सिन्धुलीमाढी, ५ कात्तिक : निर्माणाधीन बिपी राजमार्गअन्तर्गत सिन्धुलीको झाँगाझोली गविस– ४ निउलिभिरमा गत हप्ता भएको यात्रुबाहक बस दुर्घटनापछि सो सडकखण्डमा यातायात सञ्चालनमा लगाइएको रोक आजबाट खुल्ला गरिएको छ । स्थानीयबासिन्दाको दबाबमा जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्बदलीय बैठकले आजबाट यातायातका साधान सञ्चालन गर्न दिने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहमतिअनुसार भीमेश्वर गाविसको खुर्कोट बजार देखि शीतलपाटी गाविसको घुमाउने चैनपुर र नेपालथोकदेखि पुरानोझाँगाझोली गाविसको पशुपति बजारसम्म शनिबारदेखि यातायातका साधन सञ्चालन सुरु भएको प्रमुख जिल्ला अधिकारी वेणिमाधव ज्ञावलीले जानकारी दिनुभयो ।
बिपी राजमार्गअन्तर्गतको दुर्घटनाग्रस्त क्षेत्रको रुपमा रहेको घुमाउने चैनपुरदेखि पशुपतिबजारसम्मको करिब पाँच किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको जानकारी दिँदै प्रजिअ ज्ञावलीले तिहार अगाडिनै सो खण्ड पनि खुल्ला गर्ने लक्ष्य रहेको बताउनुभयो ।
उक्त सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएका कारण सयौँ यात्रुलाई पैदल हिँडेर नेपालथोकसम्म जानुपर्ने बाध्यता रहेको र त्यस क्षेत्रका बजारमा सामान ढुवानीमा समेत समस्या पैदा भएपछि स्थानीय बासिन्दाले यातायातका साधन सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय र राजनीतिक दलहरुलाई दबाब दिएका थिए ।
सोही सडकखण्डको पुरानो झाँगाझोली– ४ मा असोज २६ गते भएको यात्रु बस दुर्घटनामा ४१ जनाको मृत्यु भएपछि सर्वदलीय सहमतिकै आधारमा यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
यो विषयका प्रतिक्रियाहरु
Prakash Stha:Oct 22, 2011 06:57:06 PM
बाटो मर्मत गरेपछि मात्र पुनः साचालनमा ल्याएको भय राम्रो हुन्थो । नत्र पुनः त्यस्तै दुर्घटना हुन सक्छ .