


स्याङ्जा, ७ कात्तिक : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दीपावलीको अवसरमा स्थानीयस्तरमा खेलिने देउसी भैलो कार्यक्रममा प्रतिव्यक्ति वा समूहलाई एक सय रूपैयाँभन्दा बढी दान नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । देउसी भैलोलाई दिइने दानको परम्परा र संस्कृति भड्किलो बन्दै गएको उल्लेख गर्दै जिल्ला प्रशासनले एक सय रूपैयाँभन्दा बढी दान नदिन सर्वसाधारणलाई आग्रह गरेको हो । एक सयभन्दा बढी दान दिन मन लागेमा खाममा वा गोप्य रूपमा दिन पनि आग्रह गरिएको छ ।
‘परम्परालाई कायम राख्ने नाममा पछिल्लो समयमा समाज निक्कै भड्किलो भन्दै गएको छ’, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले भन्नुभयो – भड्किलो हुन नदिन दान दिने कार्यमा नियन्त्रण गर्न खोजिएको हो, कसैलाई धेरै दान गर्न इच्छा भए प्रदर्शन नगरी गोप्य रूपमा दिन पाइन्छ ।
प्रशासन कार्यालयले दीपावलीमा बेलुकी ९ बजेभन्दा पछाडि देउसी भैलो नखेल्नसमेत सर्वसाधारणसँग आग्रह गरेको छ ।
जिल्लाका सुरक्षा अधिकारीसहित राखिएको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयको नागरिक समाजका अगुवाहरूले स्वागत गरेका छन् ।