


बाग्लुङ, १० कात्तिक : चौबिसै घन्टा बिरामीको सेवा गर्ने गरी सेवामा प्रवेश गरेका डाक्टरलाई तिहार लागेपछि यहाँको अस्पताल डाक्टरविहीन भएको छ । धौलागिरि अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेन्डेन्ट डा. तरुण पौडेल दुई दिनको काज र अरू बिदा मिलाएर तिहार मनाउन काठमाडौंँ हिँडेको दुईदिनपछि यहाँ कार्यरत अरू डाक्टर पनि घर हिँडेका छन् ।
केही समय पहिलेसम्म १० जना डाक्टर रहेको सो अस्पताल अहिले भने डाक्टरविहीन अवस्थामा पुगेको हो । मेसु पौडेलले निमित्तको जिम्मेवारी दिएका डा.श्रीकृष्ण भट्ट पनि घर बिदामा हिँडेका छन् ।
डा. पौडेल काज र बिदा मिलाएर घर बिदामा हिँडेपछि एमबिबिएस उत्तीर्ण गरी दुईवर्षे तालिममा आएका डा. उपेश दाहाल, डा.प्रमोद पौडेल, डा.अनुजा भण्डारी र डा.रोजिन सुवेदी तिहार मनाउन घर हिँडेका छन् । उनीहरू अस्पताल प्रशासनलाई जानकारी नदिई घर हिँडेको दाबी अस्पतालले गरेको छ ।
बिरामीलाई बेहोस बनाउने डा. अवेय पोखरेल एक हप्ताको बाग्लुङ बसाइपछि वीर अस्पताल काठमाडौँमा काजमा गएका छन् भने डा. स्वस्ती शर्मा र डा.लक्ष्मण शर्मा दुई महिने तालिममा गएका छन् । बालरोग विशेषज्ञ होमप्रसाद न्यौपाने पोखराको गण्डकी अस्पतालमा काजमा छन् ।सबै डाक्टरलाई तिहार लागेपछि धौलागिरि अञ्चल अस्पताल अहिले मानसिक रोग विशेषज्ञ डा. कृष्ण थापाले कुरेका छन् ।
अस्पताल सूत्रका अनुसार प्रशासनले उचित व्यवस्थापन गर्न नसक्दा अञ्चल अस्पताल डाक्टरविहीन बन्दै गएको हो । डाक्टरहरू यहाँ बस्न नचाहनाका कारण उनीहरूलाई आवासको व्यवस्था नहुनु र कामको उचित व्यवस्थापन गर्न नसक्नु हो । सूत्र भन्छ–प्रशासनले डाक्टरलाई आवासको व्यवस्था नगरी अस्पतालको आवासमा अहेव, हेल्थ असिस्टेन्ट र स्टाफ नर्सलाई राखेको छ ।
अञ्चल अस्पतालबाट जिल्ला अस्पताल सरहको सुविधा पनि पाउन नसकेको गुनासो आइरहेका बेला अब भने सामान्य बिरामीलाई पनि पोखरा रिफर गर्नुपर्ने अवस्था सिर्जना भएको अस्पतालका कर्मचारी नै बताउँछन् ।
अस्पतालको सम्पूर्ण व्यवस्थापन हेर्ने जिम्मेवारी लिएको अस्पताल विकास समिति पनि अञ्चल अस्पताल डाक्टरविहीन हुँदै गएकामा बेखबर छ । अस्पताल विकास समितिका अध्यक्ष कृष्ण केसी भन्छन्–अस्पतालभित्रको व्यवस्थापन हेर्ने जिम्मेवारी मेसु डा. पौडेलको हो । किन डाक्टरविहीन हुँदै गएको हो, म बुझ्दै छु । आफूले व्यवस्थापन गर्न डाक्टरहरूलाई लिएर आउँदा पनि प्रशासनबाट उचित व्यवस्थापन हुन नसकेको केसीले बताए ।