


जुम्ला, १५ कात्तिक : व्यापार व्यवसायका साथै जाडोयाम छल्नका लागि हिमाली जिल्लाबाट सुर्खेत, नेपालगन्ज झर्नेहरुको सङ्ख्या बढ्न थालेको छ । यतिबेला कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालिकोटका जनता यहाँको शिशिरे जाडो छल्न र व्यापार व्यवसाय गरी पारिवारिक गुजारा चलाउन तराईका जिल्लामा झर्न थालेका हुन् । यसरी तराई झर्नेहरुमा जहाजबाट भन्दा बसबाट यात्रा गर्नेहरु बढी भेटिन्छन् ।
जुम्लाबाट सुर्खेत, नेपालगन्ज छुट्ने कर्णाली, भेरी र मध्यपश्चिम यातायातामा असहज यात्रा गरिरहेका एक यात्रु भन्छन् हप्तौं एयरपोर्टमा कुर्नुभन्दा यसरी उभिएरै जानु ठीक छ र हवाइजहाजभन्दा भाडा पनि सस्तो छ ।
सुर्खेत तथा नेपालगन्जका लागि छुट्ने सबै यातायातमा यात्रुको अत्यन्तै ओइरोलाग्ने र सबैलाई छिटो जाने आवश्यकताका कारण व्यवस्थित गर्न नसकिएको गुनासो गर्नुहुन्छ— कर्णाली यातायात व्यवसायी सङ्घका अध्यक्ष मीनबहादुर थापा ।
कर्णाली राजमार्गको स्तरवृद्धि भएपछि भने यस क्षेत्रका सम्पूर्ण जनताका लागि यातायात सेवा सहज हुने उहाँ बताउनुहुन्छ ।