


गोरखा, २२ कात्तिक : जिल्लाको अश्राङ गाउँ विकास समिति वडा नं. ६ मा छोराले कोदालाको पासोले हानेर आमाको हत्या गरेका छन् । घरमा सामान्य भनाभन भएको र त्यत्तिकैमा ३२ वर्षीय छोरा रामचन्द्र कुँवरले आमा टीकामाया कुँवरको टाउकोमा कोदालाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले रामचन्द्रलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
गाउँहरुले दिएको जानकारीअनुसार रामचन्द्र मृतकका सन्तानका रुपमा एक मात्र छोरा हुन् । तास खेल्दा हारेपछि उनमा केही दिनदेखि मानसिक असन्तुलनको स्थिति देखिएको बताइएको छ । रामचन्द्रका दुई छोरा र एक छोरी छन् । मृतक टीकामाया चारवर्षदेखि प्यारालाइसिस रोगबाट पीडित भई ओछ्यानमा पर्दै आउनुभएको थियो ।