


मनाङ, २४ कात्तिक : पटकपटक स्थगित हुँदै आएको मनाङको चर्चित नार हत्याकाण्ड मुद्दाको सुनुवाइ बुधबारबाट सुरु भएको छ । न्यायाधीश, सरकारी वकिल र प्रतिवादी वकिलको तालमेल नमिल्दा यसअघि छ पटकसम्म सुनुवाइ हुन नसकेको यो मुद्दाको बुधबार मिसिलको अध्ययन कार्य थालिएको छ । बिहीबारदेखि मुद्दाको बहस पैरवी हुने जिल्ला अदालत मनाङका श्रेस्तेदार शम्भु बरालले जानकारी दिनुभयो ।
पीडितको पक्षबाट सरकारी वकिल र पिडकको पक्षबाट पोखराबाट गएका वकिल कृष्ण थापाले बहस गर्ने भएका छन् ।
यसअघि न्यायाधीस नहुँदा एकपटक, सरकारी वकिल नहुँदा दुईपटक र प्रतिवादीका वकिल नहुँदा दुईपटक गरी पाँचपटकसम्म पेसी सर्दै आएको थियो । पछिल्लोपटक प्रतिवादीले नै पेसी हटाएका कारण कात्तिक २३ गते बुधबारलाई पेसी बोलाइएको थियो ।
असहज परिस्थिति, भवितव्य वा कुनै अप्ठेरो परेमा वादी वा प्रतिवादी दुवैले बढीमा दुई÷दुईपटक पेसी सार्न पाउने कानुनी व्यवस्था छ ।
तर, पटकपटक पेसी सार्दा सुनुवाइ नै प्रभावित हुने भएकाले अब पेसी सार्न नपाउने निर्णय गरिएको न्यायधीश काशीनाथ पोख्रेलले बताउनुभयो । मनाङमा न्यायाधीश नभएकाले लमजुङ जिल्ला अदालतका न्यायाधीश काशीनाथ पोखरेलले मुद्दा हेरिरहनु भएको छ ।
मनाङको नारमा गोर्खा केरौँजाका सात जनाको यार्सागुम्बा टिप्ने क्रममा ०६६ असार २२ गते हत्या भएको थियो । घटना भएको पनि दुई वर्ष बितिसकेको छ । यो घटनामा पक्राउ परेका १९ जना हाल पुर्पक्षका लागि थुनामा छन् ।
बाहिर जिल्लाका लागि सङ्कलन गर्न प्रतिबन्ध लगाइएको यार्सागुम्बा टिप्न आफ्नो लेकमा आएको भन्दै मनाङ नार गाउँका स्थानीयवासीले गोर्खालीहरुलाई स्थानीय झुनाम खर्क र घाङराङ लेकमा कुटीकुटी हत्या गरेका थिए ।
शोभर गुरुङ र ज्ञानबहादुर गुरुङलाई झुनाम लेकमा र बाँकी कामी गुरुङ, ध्रुवबहादुर गुरुङ, वीरबहादुर गुरुङ र आइतराम गुरुङलाई लखेटेर घाङराङमा हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । नार हत्याकाण्डपछि मनाङमा बाहिरी जिल्लाका मानिसलाई यार्सा टिप्न पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।