


रसुवा, २४ कात्तिक : वर्षायाममा अवरुद्ध राम्चे र मूलखर्क खण्डको पासाङ–ल्हामु मार्ग खुल्ला भई यातायातमा सहजता आएपछि उत्तरी रसुवाको व्यापार व्यवसायमा वृद्धि भएको छ । यातायातको सहजताले पर्यटकको आगमनमा दिनानुदिन वृद्धि हुँदै गएको, विकास निर्माण सुचारु हुन थालेको, ठाउँठाउँमा सडक बन्न थालेपछि मानिसको आगमन बढेकाले दैनिक उपभोग्य वस्तु बढी मात्रामा खपत भई व्यापार व्यवसायमा अभिवृद्धि भएको रसुवा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
रसुवा जिल्लाको उत्तरी क्षेत्रमा बसोवास गर्ने २५ हजारभन्दा बढी बासिन्दाको मुख्य मार्ग मूलखर्क अवरुद्ध हुँदा खाद्यान्नको सङ्कट हुन पुगेको थियो । तर गत असोज १३ गतेबाट सडक चालु भएपछि धुन्चे तथा स्याफ्रुबेसीको बजारमा एथेष्ट खाद्यान्न भण्डारण भइसकेको र दिनानुदिन खाद्यान्न आउनेक्रम जारी रहेको बताइएको छ ।
यातायातको सुविधाले गर्दा चाउचाउ, बिस्कुटजस्ता वस्तु अहिले मोटरमा राखी व्यापारीहरूले सुपथ मूल्यमै ठाउँठाउँमै बिक्री गर्न थालेको स्याफ्रुबेसीका लबु लामाले बताउनुभयो ।