


सोलुखुम्बु, २७ कात्तिक : मौसम सुधार भएको एक हप्ता बित्न नपाउँदै फेरि सोलुखुम्बुको खुम्बु क्षेत्र र फाप्लुमा खराब मौसमका कारण आज तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुईवटा अग्नि एयरका डोर्नियर र तारा एयरको एउटा विमानले मात्र उडान भरेका छन् । फाप्लुमा भने कुनै उडान हुन सकेन । आज तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तारा एयरका १८, अग्नि एयरका १३ र सीता एअरका तीन गरी ३४ वटा नियमित उडान भएकामा तीनवटा मात्र उडान भएका छन् ।
निजी कम्पनीका हेलिकोप्टरले तीन उडान भरेको नागरिक उड्ड्यन प्राधिकरण लुक्लाले जनाएको छ ।
हिजो र आज उडान हुन नसक्दा लुक्लामा सात सय ६० भन्दा बढी पर्यटक आज काठमाडौँ जान पाएनन् भने फाप्लुबाट २५ जनाभन्दा बढी पर्यटक काठमाडौँ जान पाएका छैनन् ।
आज बिहानदेखि मौसममा आंशिक खराबी आए पनि दिउँसो साढे १ बजेदेखि बाक्लो हुस्सु र सिमसिम पानी परेकाले पर्यटक तथा आसपासको जनजीवन प्रभावित बनेको लुक्लाका स्थानीय बासिन्दा राम कटवालले बताउनुभयो ।
सोलुखुम्बुको मौसममा आंशिक खराबी आएपछि तेन्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लुको हवाई उडान प्रभावित भएको छ ।
लुक्लामा दैनिक ५० भन्दा बढी उडान हुने र फाप्लुमा पाँचभन्दा बढी उडान हुने गर्दछ ।
फिस्टेल, सिम्रिक र माउन्टेन हेलिकप्टरले तत्काल काठमाडौंँ पुग्नुपर्ने पर्यटकमध्ये ६० जनालाई काठमाडौँ पठाइएको नागरिक उड्ड्यन प्राधिकरण लुक्लाले जनाएको छ ।
आज बेलुकाको मौसमको छाँटकाँट हेर्दा भोलि पनि मौसम खुल्ने कि नखुल्ने भन्नेबारेमा केही भन्न नसक्ने स्थिति रहेको प्राधिकरणले जनाएको छ ।