


उदयपुर, २९ कात्तिक : नकाबधारी लुटेरा समूहले सोमबार राति उदयपुरमा मोटरसाइकलमा सवार दुई युवालाई आक्रमण गरी मोटरसाइकल र अन्य समान लुटेका छन् । गाईघाटबाट बेल्टारतर्फ जानेक्रममा सो समूहले नेपाली काँग्रेस तरुणदलका नगर सभापति भोला निरौला र सदस्य केशव पौडेलमाथि चतारा गाईघाट सडकखण्डअन्तर्गत हडिया गाविसमा पर्ने फुलजोर जङ्गलमा आक्रमण गरी को.५प २४६६ नम्बरको हिरोहोन्डा लुटेर लगेको पीडितहरुले बताएका छन् ।
उक्त मोटरसाइकल नेपाली काँग्रेस, उदयपुरका जिल्ला सभापति हिमाल कार्कीको भएको बताइएको छ ।
सडक नजिकैको जङ्गलबाट निस्केका चारजनाको नकाबधारी समूहले एक थान मोबाइल, एक तोलाको सुनको सिक्री र ११ हजार नगदसमेत लुटेर लगेको बताइएको छ ।
लुटेराहरुको आक्रमणबाट पौडेल गम्भीर घाइते भएका छन् । उनीहरु दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
उनीहरुलाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सत्यनारायण चौधरीले बताए । प्रहरीले लुटेराको खोजी भइरहेको जनाएको छ ।
लुटेराहरुले नकाब लगाएका र रातको समय भएकाले पहिचान गर्न नसकिएको पीडितहरुले बताएका छन् ।