


सोलुखुम्बु, १ मंसिर : खराब मौसमका कारण फाप्लु विमानस्थलमा छ दिनदेखि उडान नहुँदा काठमाडौँ रिफर गरिएका बिरामी मारमा परेका छन् । बाक्लो हुस्सु र सिमसिम पानी परेका कारण कुनै पनि कम्पनीका विमानले उडान भर्न सकेका छैनन् । पाँच दिनदेखि फाप्लुमा कुनै उडान नभएको नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । मौसम बिग्रिएको आज छैटौँ दिन सबै उडान पनि रद्ध गरिसकिएको उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।
यसबाट जिल्ला अस्पताल फाप्लुबाट उपचार हुन नसकी काठमाडौँका लागि रिफर गरिएका बिरामीको बिचल्ली भएको छ । ‘सडक यातायातले छोए पनि राम्रो बाटो नभएका कारण कुनै पनि सवारीसाधन चल्न सकेका छैनन्, यसमा सम्बन्धित निकाय पनि कानमा तेल हालेर बसेको छ’– सल्यानका राजरजन राईले भन्नुभयो ।
‘आमालाई काठमाडौँका लागि रिफर गरिएको चार दिन भइसक्यो, मौसम राम्रो नभएका काठमाडौँ लान सकिएको छैन, खै अब कहिले खुल्छ यो मौसम पनि ? यही जिल्ला अस्पतालमा स्लाइनपानी दिएर राखेका छौँ ।’
तिङलाका रमेश कार्कीले भन्नुभयो– फाप्लुमा मौसम सुधार नहुँदा बिरामीलाई मात्र होइन स्वदेशी तथा विदेशी पर्यटक पनि अलपत्र परेका छन् ।
‘भिसाको म्याद सकिनै लाग्यो विदेशीलाई उनीहरुको देश पठाउनु पर्ने, हिजो डाइनेस्टिक हेलिकोप्टर मगाएको,तर खराब मौसमले आउन सकेन, खै आज पनि त्यस्तै छ, पर्यटक हतारिरहेका छन्, अब के गर्ने हो ?’ टिप एन्ड टप टे«किङ कम्पनीका प्रबन्धक निमा शेर्पाले भन्नुभयो ।
बिरामी, स्वदेशी तथा विदेशी पर्यटकमात्र होइन काठमाडौँ जानका लागि ४÷५ दिनको बाटो हिँडेर छेस्काम गाविसबाट आइपुगेका रामधन कुलुङलाई पनि उस्तै मर्का परेको छ ।
कुलुङ कतारका लागि २३ नोभेम्बरमा उड्नुपर्ने तर खराब मौसमले गर्दा बिचल्लीमा परेका छन् । फाप्लुमा नेपाल एयरलायन्स र तारा एयरले दैनिक ४÷५ नियमित उडान र अन्य चार्टर उडान भर्दै आएका छन् । रासस
यो विषयका प्रतिक्रियाहरु
Tshiring Dorjee Sherpa:Nov 26, 2011 06:02:07 PM
खराब मौसम को कारण ले नेपालका हिमाली क्षेत्र को बिमान स्थल हरु अवरुद्ध हुनु हाम्रो लागि नौला खबर हैन र यस्ता समस्या हरु नभोगेका पनि हैन तर मौसम राम्रो हुदा हुदै पनि सम्बंधिद यार लाइन कम्पनि हरुले टिकट नदिधा सर्ब साधारण यात्रु लाई दलाल लाई टिकट दिएर कालो बजारी गर्नु चै राम्रो लागेन है /