


काठमाडौँ, ६ मंसिर : काठमाडौँ तराई फास्ट–ट्रयाकअन्तर्गत काठमाडौँको छैमले गाउँ विकास समितिमा पर्ने दुई सय रोपनी जग्गाको मुआब्जा निर्धारण भएको छ ।काठमाडाँैका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हिजो बसेको बैठकले प्रतिआना रु ३२ हजारदेखि रु एक लाखसम्म मुआब्जा दिने निर्णय गरेको हो ।
मुआब्जा निर्धारणका लागि प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेय, काठमाडौँ तराई फास्ट–ट्रयाक आयोजना प्रमुख सरोजमान श्रेष्ठ र जिविसका प्रतिनिधिसहितको बैठक बसेको थियो ।
ललितपुरको सानो खोकनादेखि बारा जिल्लासम्मको ७६ किलोमिटर लामो फास्ट–ट्रयाक नेपाल सरकारले सार्वजनिक निजी साझेदारीमा ‘बनाउ, चालाउ, फर्काउ (बिओपी)’ भन्ने मेडेलमा निर्माण गर्न लागेको हो ।
फास्ट–ट्रयाकको मुआब्जाका लागि सरकारले बजेटमार्फत रु ३५ करोड र फास्ट–ट्रयाक खोल्नका लागि रु ३४ करोड छुट्ट्याएको छ ।
यसअघि आयोजनाले मकवानपुर जिल्लाका विभिन्न स्थानमा पर्ने जग्गाको मुआब्जा निर्धारण गरेको थियो ।
ट्रयाक खोल्ने कार्य नेपाली सेनाले गर्दै आएको छ भने आवश्यक वातावरणका लागि आयोजनाले काम गर्दै आएको छ ।
आयोजना प्रमुख श्रेष्ठले दिनुभएको जानकारीअनुसार फास्ट–ट्रयाकमा पर्ने अधिकांश जग्गाको मुआब्जा निर्धारण गर्ने कार्य सकिएको छ ।
उहाँका अनुसार अब ट्रयाकमा पर्ने ललितपुर जिल्लाका जग्गाको मात्र मुआब्जा निर्धारण गर्न बाँकी रहेको र त्यसका लागि स्थलगत रिपोर्ट तयार गरिँदैछ ।