


दैलेख, १४ मंसिर : दैलेख जिल्ला अदालतले दैलेखमा अन्तर्जातीय विवाह गरेका जोडीको सम्बन्ध टुटाउने छ जनालाई जनही रु पाँच–पाँच हजार जरिवाना र आठ–आठ महिना जेल सजाय तोकेको छ । दैलेखको जगनाथ गाविस वडा नं. ६ निवासी अमृत विक र त्यही कै सविता शाहीको अन्तर्जातीय विवाहलाई जातीय हिसाबले सहन नसकिने भन्दै केटालाई कुटेर भाग्न बाध्य बनाएका र केटीलाई आफ्नै जातको अर्को केटासँग विवाह गराएको मुद्दामा जिल्ला न्यायाधीश नारायणप्रसाद धितालको एकल इजलासले मङ्गलबार सो सजाय तोकेको हो ।
अन्तर्जातीय विवाह गरेका जोडीको सम्बन्ध टुटाउनु जातीय विभेद भएको भन्दै जगनाथ गाविस वडा नं. ६ का रामबहादुर शाही, चक्रबहादुर शाही, पदमबहादुर शाही, ओमजङ्ग शाही, कुवेरजङ्ग शाही र केशव शाहीलाई सजाय तोकेको अदालतका श्रेतादार अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।
सरकारले अन्तर्जातीय विवाह गरेका जोडीलाई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिने घोषणा गरेको दुई महिना नबित्दै २०६६ भदौ १६ मा गरेका अमृत विक र सविता शाहीले अन्तर्जातीय विवाह गरेलगतै माइतीपक्षले केटालाई मरणासत्र हुनेगरी कुटेर गाउँ निकाला गर्नुसँगै केटीलाई आफ्नै जातको अर्को केटासँग विवाह गरी दिएका थिए ।
सोही विषयलाई लिएर स्थानीय दलित गैरसरकारी संस्थाहरूको अग्रसरतामा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी परेपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत २०६६ कात्तिक २२ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
अन्तर्जातीय विवाहकै सन्दर्भलाई लिएर माइतीपक्षले केटीलाई आफ्नै जातमा फर्काउनका लागि केटाका अभिभावकबाट ६० हजार नगद र दुईवटा खसी लिएका थिए ।
दोषीहरूलाई जेल सजाय तोकिए पनि उनीहरूलाई जेल पठाइएको चाहिँ छैन । रासस
यो विषयका प्रतिक्रियाहरु
shrestha:Dec 2, 2011 03:35:03 PM
जेल ma राखेर राज्यको ढुकुटी khotyaune होइनकी ढुकुटीमा थप्ने कम garne gari janahi १लख् तिराउने sart मा karbahi अघाडी badhauda ठिक होला किनकि rajya को ढुकुटी मा कमि नाओस !