


कालिकोट, १४ मंसिर : शान्ति सम्झौताको ५ वर्ष बितिसक्दा पनि राँचुली–३ का ५८ वर्षीय लोकबहादुर शाहीको परिवार हालसम्म घर फर्कन सकेको छैन । गाउँमा मदिरा बेचेको आरोपमा नौजनाको परिवार तत्कालिन माओवादीबाट २०५४ फागुन १५ गते विस्थापित भएयता गाउँ फर्कन नसकेका हुन् ।
माओवादीले घरनिकाला गरेपछि विस्थापित उहाँको परिवार सदरमुकाममा बस्दै आएका छन् । विस्थापित भएपछि २०५७ साउन चारगते खसी ब्यापारको लागि गाउँमा गएको बेला ‘सामन्त आयो’ भन्दै माओवादीले अपहरण गरी आफूसँग भएको नगद तीनलाख ३२ हजार रुपियाँ लुटेको विस्थापित शाहीले गुनासो गर्नुभयो । ब्यापार गर्नका लागि घरजगा धितो राखेर गाउँकै साहुबाट ऋण लिएको बताउने शाही सोही ऋण तिर्न नसक्दा घर फर्कन नसकेको बताउनुहुन्छ । छ छोरी, एक छोरा, एक पत्नी र उहाँले सदरमुकाममा दाउरा बेच्ने, गिट्टी कुट्ने र मजदुरी गरी जीवन पाल्दै आउनुभएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उहाँकी १२ वर्षीय कान्छो छोरा कमल शाहीसहित सात छोराछोरी विद्यालय गएका छैन्न । दाउरा बिक्री नभएका दिन आफूहरुको परिवार भोकै बस्ने गरेको दुखेसो शाहीको छ ।
जिल्लामा तीनसय १० विस्थापित परिवारको पहिचान भइ राहत पाएको तर लोकबहादुर शाहीको तथयाङ्कमा नभएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत लालबहादुर कार्कीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय कालिकोट लेखा शाखाका अनुसार ०६७ असार १३ गते २५ जनालाई ७ लाख ६० हजार ४ सय २८ रुपियाँ र ०६७ माघ २१ गते जिल्लाका १७ जना विस्थापित परिवारलाई ९ लाख ५३ हजार राहत रुपयाँ प्रदान गरिएको छ ।