


इलाम, १९ मंसिर : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले कृषि विकास बैंक विगत र वर्तमानमा पनि किसानको हितमा लागेको बताउनुभएको छ । इलामको मङ्गलबारेस्थित कृषि विकास बैंकमा बैंकिङ कार्यक्रमको आज शुभारम्भ गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । बैंकले वाणिज्य बैंक सेवा उपलब्ध गराउँदै आएकोमा उहाँले पश्चिमी क्षेत्रका झन्डै एक दर्जन गाविसका किसानलाई फाइदा पुग्ने बताउनुभएको छ ।
बैंकिङ कार्यक्रमका अवसरमा उहाँले नेपालटार मङ्गलबारे सडकखण्ड समेत चाडै निर्माण सम्पन्न हुने बताउनुभयो ।
यस्तै उहाँले मङ्गलबारे–गजुरमुखी जाने बाटोसमेत चाँडै निर्माण सुरु गरिने स्थानीयवासीलाई जानकारी दिनुभयो ।
सो अवसरमा सभामुख नेम्बाङले थपिएको छ महिनाभित्र संविधान बन्नेमा ढुक्क हुन स्थानीय बासिन्दालाई अनुरोध गर्नुभयो । अहिले दलहरूबीच देखिएको उत्साहले निर्धारित समयमा संविधान बन्ने उहाँको तर्क थियो ।
प्रमुख तीन दलबीच विश्वासको वातावरण बनिसकेकाले संविधान बन्दैन भनेर अब कुनै पनि शङ्का, उपशङ्का गर्नुपर्ने स्थिति छैन भन्नुभयो ।
संविधान निर्माणको कार्यतालिका सार्वजनिक भइसकेकाले सोही बमोजिम संविधान निर्माण प्रक्रिया अघि बढ्नेछ । संविधान निर्माणका सम्बन्धमा विवादित रहेका विषय पनि दलहरूबीच भएको सहकार्यले मिल्दै गएको उहाँले बताउनुभयो ।
सो अवसरमा कृषि विकास बैंकका कार्यकारी प्रमुख तेजबहादुर बुढाथोकीले बैंकले किसानलाई फाइदा हुने खालका कार्यक्रम ल्याउने बताउनुभयो । कार्यक्रममा कृषि विकास बैंक मङ्गलबारे उपशाखाका प्रबन्धक देवीबहादुर कटुवालले स्वागत मन्तव्य राख्नुभएको थियो ।