


सोलुखुम्बु, २२ मंसिर : सोलुखुम्बु जिल्लाको गोली गाविस वडा नं. ४ मैलीमा सीमा विवादका कारण विगत ५० वर्षदेखि कुनै जग्गा जमिन किनबेच नभएको गोली गाविसका स्थानीय बासिन्दाले बताएका छन् । बृहत् एकीकृत घुम्ती शिविरअन्तर्गत जिल्लाको गोली गाविसमा भएको सार्वजनिक सुनुवाइमा सहभागीहरूले सो कुरा बताएका हुन् ।
जिल्लाको सुदूरपश्चिममा अवस्थित गोली गाविस सदरमुकामदेखि अत्यन्तै टाढा र राज्यको स्थानीय निकायबाट पनि टाढा रहेकाले बृहत् घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
सीमा विवादका कारण हरेक क्षेत्रबाट पछाडि परेको गोली गाविसको मैलीलाई आफ्नै कार्यकालमा मिलाउन प्रयास गर्ने प्रतिबद्धता पनि प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले व्यक्त गर्नुभयो ।
जिल्ला विकास समिति सोलुखुम्बुका योजना अधिकृत तुलराज सुनुवारले जिल्लाभित्र सञ्चालन हुने योजनाहरुको स्थलगत अनुगमन गरेर अबको दिनमा रकम निकासा गर्ने बताउनुभयो ।
गोली गाविसमा धेरै व्यक्तिको जग्गा ७५ रोपनीभन्दा माथि रहेकाले मालपोत र नापीसम्बन्धी कामकारबाही नगरिएको जिल्ला मालपोत कार्यालयका अधिकृत विष्णुप्रसाद सुवेदीले बताउनुभयो ।
सार्वजनिक सुनुवाइमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रमेशकुमार खड्काले गोली गाविसमा महिलाहरु अत्यन्तै सक्रिय रही समाजमा भएका मादकपदार्थलाई नियन्त्रण गर्न सकेकामा आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा जिल्लाबाट दिने सेवा सुविधा तथा समस्याबारे स्थानीय बासिन्दाले प्रत्यक्षरुपमा आफ्ना समस्याहरु राखेका थिए ।