


मुगु, २७ मंसिर : मुगु जिल्ला अस्पतालमा चिकित्सक नहुँदा लामो समयदेखि पोस्टमार्टम कार्य ठप्प भएको छ । नाउले खोला माथिबाट आएको काठको मुडा लागेर मृत्यु भएका श्रीकोट गाविसका माग्ले लोहारको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल, मुगुमा पु¥याएको तीनदिन बितिसक्दा पनि पोस्टमार्टम हुनसकेको छैन ।
जसका कारण आर्थिकरुपले विपन्न मृतक माग्लेको परिवारलाई झन पीडाले सताएको छ ।
उता चिकित्सकहरु भने आफू खुशी कार्यालय नै खाली गरेर तल झरेका प्रशासन स्रोतले जानकारी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कर्णप्रसाद तिमिल्सेनाले करार पदका डा किशोर परियार पहिले नै जिल्लाबाट तल झसिसकेकाले डा कृष्ण आचार्यलाई अस्पताल नै खाली गरेर बाहिर नजान भनिए पनि उनी पनि गोष्ठीको बहानामा आफू खुशी मङ्सिर १९ गते तल झर्दा अहिले अस्पतालमा यो समस्या आएको हो ।
यसबारे आफूले क्षे.प्र.का सुर्खेत र गृह मन्त्रालयमा समेत जानकारी गराएको उहाँले बताउनुभयो ।