


बाजुरा, २७ मंसिर : बाजुराका जनता वर्षौदेखि झरो दियालो र टुकीबाट मुक्त भई दिन प्रतिदिन विद्युत्ले गाउँ झिलिमिली पार्ने अभियानमा जुटेका छन् । जलविद्युत्को प्रचुर सम्भावना रहेको जिल्लामा जनताको सक्रियतामा हरेक खोलाबाट लघु जलविद्युत् आयोजनाबाट बत्ती बाल्ने काम भइरहेको छ । विद्युत्को नाममात्र सुनेका जनता आफँै विद्युत् बाल्न थालेपछि हौसिएका देखिन्छन् । जिल्लाका २२ बढी खोलानालाबाट विद्युत् उत्पादन गर्न २७ वटै गाविसका जनता लागेका छन् ।
जिल्ला विकास समिति, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना, वैकाल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ऊर्जा विकास समितिलगायतका सरोकारवाला निकायले जलविद्युत्मा चासो देखाएको पाइन्छ ।
यससातामात्र दुर्गम मानिने छतारा गाविसमा ५० किलोवाटको विद्युत् आयोजना निर्माण भएको छ । सो विद्युत्ले १८७ घर धुरीको चार हजार ३८१ जनसङ्ख्या लाभान्वित भएका छन् ।
फिनल्यान्ड सरकारको विदेश विभागअन्तर्गत एसिया संयोजक मारयिना कोकोनेनले छतारा गाविसमा निर्माण गरेको काँसेगाड लघु जलविद्युुत् योजनाको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा उहाँले भन्नुभएको थियो– यो योजनाको सफलताले नेपालमा हामीले जलविद्युत्मा गरेको कामको सफलता भएको अनुभूति भएको छ । बाजुरा जस्तो दुर्गम जिल्लाका जनतालाई अँध्यारोबाट उज्यालामा आउने अवसर मिलेको छ । यो उज्यालोका लागि मात्र भन्दा पनि सानासाना उद्योेगका लागि विद्युत् प्रयोग हुनसकेमा गाउँको विकास हुने देखिन्छ ।