


मनाङ, २९ मंसिर : हिमालपारिको जिल्ला मनाङको बगरछाप गाविसको जङ्गलमा भीषण आगलागी भएको छ । बगरछाप गाविसको वडा नं. ५ स्थित क्युयार जङ्गलमा मङ्गलबार दिउँसोदेखि लागेको आगोलागी बुधबार रातिसम्म पनि निभाउन नसकिएको जिल्ला प्ररही कार्यालय मनाङले जानकारी दिएको छ ।
निकै भिरालो भौगोलिक स्थान भएको र खडेरीका कारण हिँउ नपरेकाले आगो जङ्गलभर फैलिएको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।
आगोलागी भएको खबर पाउनेवित्तिकै सीमा प्रहरी चौकी कोते र जिल्ला प्रहरी कार्यालय चामेबाट प्रहरी घटनास्थल पुगे पनि आगो नियन्त्रण गर्न नसकी फर्किएको थियो ।
भिरालो जमिन भएकाले आगोलागीबाट ढुङ्गा र रुखहरु झरेकाले फेदीबाटै आगो निभाउन जान नसकिएको प्रहरीले जनाएको छ ।
धूपी र सल्लाको बोटहरु रहेको सो जङ्गलको १५ रोपनी क्षेत्रफलसम्म आगो फैलिएको मनाङ चामेका बिपी लामाले जानकारी दिनुभयो ।
जङ्गलवरिपरि मानवबस्ती नभएकाले बढी जोखिम नभए पनि वनजङ्गलमा रहेका जीवजन्तु मारिएको हुनसक्ने प्रहरीको अनुमान छ ।