


मनाङ, २ पुस : हिमालपारिको जिल्ला मनाङको बगरछाप गाविसको जङ्गलमा पाँच दिन अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बगरछाप गाविस–५ स्थित क्युयार जङ्गलमा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझैपनि निभाउन नसकिंदा आगो फैलँदै गएको छ । आगलागीका कारण सयौं हेक्टर जङ्गलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मनाङले जानकारी दिएको छ ।
निकै भिरालो भौगोलिक स्थान भएको र खडेरीका कारण हिउँ नपरेकाले आगो जङ्गलभरि फैलिएको प्रहरी नायब उपरीक्षक नवीनराज राईले बताउनुभयो ।
आगोलागी भएको खबर पाउने वित्तिकै सिमा प्रहरीचौकी कोतेबाट प्रहरी घटनास्थल पुगेपनि आगो नियन्त्रण गर्न नसकी फर्किएको थियो ।
बुधबार जिल्ला प्रहरी कार्यालय चामेबाट प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र प्रहरी नायब उपरिक्षक नवीनराज राईसहित थप प्रहरी बल घटनास्थल गएपनि जङ्गलमा जान नसकी फर्किएको थियो ।
भिरालो भौगोलिक बनोट भएका कारण जङ्गलको माथिल्लो भागबाट ढुङ्गा र रुखहरु झरेकाले फेदीबाटै आगो निभाउन जान नसकिएको प्रहरीले जनाएको छ ।
धुपी र सल्लाको रुखहरु रहेको सो जङ्गलको सयौं हेक्टर क्षेत्रफलसम्म आगो फैलिएको चामेका वासिन्दा विपी लामाले जानकारी दिनुभयो ।
उहाँले अब हिउँ नपरेसम्म आगो निभाउन नसकिने समेत बताउनुभयो । जङ्गल वरिपरि मानववस्ती नभएकाले बढी जोखिम नभएपनि वनजङ्गलमा रहेका जीवजन्तु मारिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।