


बाजुरा, ६ पुस : बाजुरा जिल्लाको उत्तरी भेगमा पर्ने जुकोट गाविसमा गएराति भएको आगालागीमा परेर घर जलेका १६ दलित परिवार विस्थापित भएका छन् । सो गाविसको वडा नं ५ मा रहेको कडारबाडा नामको दलित बस्तीमा गएराति अकस्मात आगालागी भएको थियो । खरले छाएका छाना भएकाले आगो नियन्त्रण हुन नसकेको बताइएको छ ।
सो घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
जाडोका कारण खाना पकाइसकेपछि चुलामा बालेको आगो ननिभाएका कारण खरको छानामा आगोले भेटाएपछि आगालागी भएको हुन सक्ने कुन्ना प्रहरी चौकी भरती कैसाडीले जानकारी दिएको छ ।
आगालागीबाट प्रसागे कडारा, पदम कडारा, कलिभान कडारा र कार्तिके कडाराका घर जलेर नष्ट भएको स्थानीय मोहन विकले जानकारी दिनुभयो ।
एउटा घरसमेत जलेर खरानी भएपछि पीडामा परेका कलिभान कडाराले भन्नुभयो, “सम्पत्ति भनेको यो एक घर मात्र थियो, त्यो पनि खरानी भयो, अब कसरी घर लगाउने अन्यौलमा छौँ ।”
“चार जहान कबिल मङ्गलबारदेखि गाउँलेको गोठमा राखेको छु, खाने के हो चिसोको महिना छ ओड्ने ओछ्याउने खानेपानी सबै मङ्गलबारको आगोलाई ठिक्क भयो, दशा गरिबलाई लाग्दारहेछन्,” उहाँले दुखेसो पोख्नुभयो ।
“राज्यले पनि राहत समयमा दिँदैन, सदरमुकाम जान दुई दिन लाग्छ, खर्चपानी केही छैन,” अर्का पीडित कार्तिके कडाराले बताउनुभयो । दैवीप्रकोपमा परेर घर जलेको अवस्थामा रु ५०० देखि दुई हजार मात्र दिइने गरिन्छ भन्दै कडाराले भन्नुभयो, “त्यो त जिल्ला आउन र जान खर्च हुन्छ । राज्यले अरु केही सहयोग गरिदिए हाम्रो कल्याण हुने थियो ।”
प्रमुख जिल्ला अधिकारी एवम् दैवीप्रकोप उद्धार व्यवस्थापन समितिका प्रमुख प्रेमसिंह कुँवरले भन्नुभयो, “घटनाका बारेमा पूर्णरुपमा जानकारी आइनसकेको र पीडितहरुले नियमानुसार आएमा नेपाल सरकारले व्यवस्था गरेको राहत पाउँछन् ।”
बाजुरामा दैवीप्रकोपका घटनामा बढी दलित समुदाय पीडित हुने गरेका छन् । गरिबी, भोकमरी र जमिन नभएका कारण आगलागी, बाढी, पहिरोका घटनामा पहिलो तारो दलित हुने गरेको स्थानीय प्रशासनको भनाइ छ ।