Sunday, 20 May 2012 02:10 pm, Nepal

ललितपुरका सडक अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सुरु

मेचीकाली : 2011-12-24 13:32:23


ललितपुर, ९ पुस : ललितपुरमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काई सडक विस्तार गर्ने कार्यलाई आजबाट तीव्रता दिन सुरु गरिएको छ । नगर विकास समिति ललितपुर, सडक डिभिजन कार्यालय र ट्राफिक प्रहरीले संयुक्तरुपमा अतिक्रमित घर, टहरा भत्काई सडक विस्तार अभियानलाई तीव्रता दिएको हो ।

    पहिलो चरणमा कुपण्डोल, कानदेवता मन्दिरदेखि, सानेपा झम्सिखेल हुँदै पुल्चोक नमस्ते सुपरमार्केटसम्मको साँघुरो सडक फराकिलो पार्न लागिएको छ ।

    सडक डिभिजन कार्यालयका दुई डोजर र मजदुर लगाएर आज कुपण्डोल कानदेवता मन्दिरदेखि त्यस्ता घर, टहरा भत्काउन सुरु गरिएको हो ।

    काठमाडौँ उपत्यका नगरविकास समितिका नगर नियोजक डा भाइकाजी तिवारीले केन्द्र सडकदेखि दुवैतिर पाँच दशमलव पाँच प्वाइन्ट अर्थात् ११ मिटर विस्तार गर्न लागिएको जानकारी दिनुभयो ।

    उहाँले नियमविपरीत बनेका घर, टहराको मुआब्जा नदिइने बरु त्यस्तालाई कारबाही गरिने बताउनुभयो ।

    उपत्यका नगरविकास समितिको निर्माणसम्बन्धी मापदण्डअनुरुप सडक विस्तार अभियान गरिएको हो । जसअन्तरर्गत उपत्यकाका पाँचवटै नगरपालिका र ३७ वटा नगरउन्मुख गाविसमा समेत सडक विस्तार अभियान चलाइने छ ।

    विसं २०३३ सालमै सरकारले सडकसम्बन्धी मापदण्ड तोकेको भए पनि मनपरी सडक अतिक्रमण गरी घर, टहरा बनाउने प्रवृत्ति बढेका कारण अहिले सडक साँघुरा भई ट्राफिक जामलगायतका समस्या बढेको छ ।

    सडक विभागको मापदण्डअनुसार राजमार्गको ५० मिटार चक्रपथको ६२ मिटर, मुख्य सडक २२ मिटार र शाखा सडक १४ मिटर हुनुपर्ने छ, तर अहिले शाखा सडक ११ मिटरसम्म मात्र विस्तार गर्न लागिएको छ ।

    ललितपुरका ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक कुबेर कडायतले जस्तोसुकै अवरोधका बावजुद पनि अतिक्रमित सडक विस्तार अभियान सफल बनाएरै छाड्ने दाबी गर्नुभयो ।

    ललितपुरकी सभासद एवम् एमाओवादी पोलिटब्युरो सदस्य पम्फा भुसालले अतिक्रमित सडक विस्तार गर्ने तीन वर्षदेखिको प्रयास आजबाट सफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु