


दैलेख, १० पुस : दैलेख कटी गाविस ४ चिपिनका मानबहादुर रोकाय सुुदूरपश्चिम क्षेत्रीय प्रहरी गण मुख्यालय धनगढी मातहतको २ नं गुल्म धनगढीबाटै बेपत्ता पारिएको भन्दै परिवारले खोजी गरिदिन दैलेखस्थित नेपाल मानव अधिकार सङ्गठनलाई आग्रह गरेको छ । प्रहरी जवानका बाबु टोपबहादुर रोकायले खोजतलास गरी पाऊँ भन्दै सङ्गठन जिल्ला शाखा दैलेखमा बिहीबार निवेदन दर्ता गराएको अध्यक्ष दीर्घराज अधिकारीले जानकारी दिनुभयो ।
गणभित्र विवाद परिसेकपछि चक्कु प्रहार गरी घाइते भएको जानकारी पाएपछि आफू गणमा जाँदा कुनै पनि कागजात आफूलाई नदिएको र छोराका बारेमा समेत कुनै जानकारी नदिएपछि छोराको मृत्यु भएको हुनसक्ने आशङ्का बाबु टोपबहादुरले दिएको निवेदनमा उल्लेख गर्नुभएको छ ।
घटनाबारे छानबिन गरी सत्यतथ्य जानकारी गराइदिन सङ्गठनले पत्रसहित धनगढी मानवअधिकारको कार्यालय, धनगढी जिल्ला प्रशासन र केन्द्रलाई जानकारीपत्र पठाइसकेको जिल्ला अध्यक्ष अधिकारीले बताउनुभयो ।