


ललितपुर, १० पुस : लालुपाते फूलको प्रजाति प्रदर्शन गरी सोको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ आयोजित तीन दिने प्रथम लालुपाते पुष्प प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला २०६८ आज सम्पन्न भएको छ । ‘स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ फ्लोरिकल्चर सहकारी संस्थाले आयोजना गरेको सो मेलामा रु.११ लाखको आर्थिक कारोवार हुनुका साथै करिव १४ हजार दर्शकले अवलोकन गरेका थिए ।
दर्शकको उत्साहजनक सहभागिता रहेको मेलामा अधिकतम रु.११ लाखको आर्थिक कारोवार भएको प्रदर्शनी तथा व्यापार मेला २०६८ का संयोजक कुमार कँसजु श्रेष्ठले बताउनुभयो ।
प्रदर्शनीमा जिज्ञासु दर्शक भन्दा पनि व्यवसाय गर्न रुचाउने बढिले अवलोकन गरेको बताउदै संयोजक श्रेष्ठले व्यवसायीहरूलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्न र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गर्न मेला उपयोगी भएको बताउनुभयो ।
जावलाखेल खेल मैदानमा यही पुस ८ गते शुरु भएको प्रदर्शनीमा व्यावसायिक स्टल २३, सूचनामूलक र लालुपाते फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल दुई र प्रदर्शनीकक्ष गरी २५ वटा स्टल राखिएको थियो ।
मेलामा लालुपाते फूलका साथै अन्य मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बीउबिजन, औजार, उपकरण, प्याकेजिङका सामग्री र विषादीको प्रदर्शनी तथा बिक्रीकक्ष राखिएको थियो ।
पुष्प व्यवसायीहरूलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्न र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गर्न मेला उपयोगी हुने मेलाका संयोजक एवम् फ्लोरीकल्चर एसोसिएसनका उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
पछिल्लो तथ्याङ्कअनुसार (अर्थिक वर्ष २०६५÷०६६) पुष्प व्यवसायको रु ६६.४ करोड कारोवार भएको छ भने ४० हजार भन्दा बढिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । हाल ३५ भन्दा बढी जिल्लामा पुष्प ब्यवसाय रहेको छ ।