


सुर्खेत, १४ पुस : सारङ्गी बोकेर घरआँगनमा गीत सुनाउँदै हिँड्ने सुर्खेतका गन्धर्व जातिको पेसा ओझेलमा पर्दै गएको छ । आधुनिक गीत, क्यासेट, टेलिभिजन, डेकजस्ता आधुनिक प्रविधिको प्रयोगसँगै गन्धर्व जातिको पहिचान बोकेको ‘सारङ्गी’ को प्रयोग बिस्तारै हराउन थालेको छ ।
सन्देशमूलक र समसामयिक घटनाबारे दिनभर गीत गाउने गन्धर्व जाति अहिले आफ्नो पुख्र्यौली पेसा सङ्कटमा परेपछि अन्य पेसा अँगाल्न तथा भारतमा काम गर्न जान बाध्य छन् ।
गाउँघरमा गीत गाएरै आफ्नो जीवन गुजारा गर्दै आएका गन्धर्व जातिलाई पहिलेको जस्तो सम्मान नभएको उनीहरू बताउँछन् ।
गाउँघरमा पहिलेको जस्तो माग नहुँदा र यो पेसाप्रति सम्मान नहुँदा अहिले सारङ्गी बजाउने पेसा छाड्न बाध्यता आइलागेको सुर्खेतका गन्धर्वको भनाइ छ ।
‘पहिले जस्तो सारङ्गीमै जीवन गुजारा गर्न नसकेपछि मैले यो पेसा छाडेर खुद्रा पसल चलाएँ’, जर्बुटा १ का नरबहादुर गन्धर्व भन्छन् – ‘पहिले गाउँ–गाउँमा बोलाएर गीत गाउन लगाउँथे र सबैले अन्न तथा पैसा दिन्थे, तर अहिले बोलाउनु त परै जाओस्, सुन्नेसमेत कोही भेटिँदैन ।’
उनी भन्छन् – अहिले सबै युवा कुनै चाडपर्व आएमा डेक र क्यासेटमै नाच्न गाउन थाल्छन् तर सारङ्गीको कुनै महत्व नै राख्दैनन् ।
गाउँघरमा कोही मरेमा वा कुनै घटना भएमा बोलाएर विरहका भाकाहरू सुन्न मानिस जम्मा हुने गर्थे र गीत सुनेर आँशु निकाल्थे । अहिले भने सुन्ने मान्छे खोज्दा पनि पाउन छाडेको उनको गुनासो छ ।
सुर्खेत जिल्लाभर करिब दसदेखि बाह्रजना गन्धर्व मात्रै सारङ्गी बजाउँछन् । सुर्खेत जिल्लामा अहिले करिब ३०० को हाराहारीमा गन्धर्व जातिको बसोवास छ ।
राज्यले समेत गन्धर्व जातिको उत्थानका लागि कुनै पनि प्रभावकारी कार्यक्रम सञ्चालन नगर्दा गन्धर्व जाति थप मारमा परेको हो ।