


वीरगन्ज, १५ पुस : पर्सामा रहेका भूमाफिया र जिल्ला मालपोत कार्यालय पर्साका कर्मचारीहरुको मिलेमतोमा एक जीवित व्यक्तिलाई मृत घोषणा गरी उसको नाममा रहेको जग्गा अरुलाई नामसारी गरिएको खुलासा भएको छ । जिल्लाको महादेवपट्टी गाविस– ५ का स्थानीय बाबुलाल राउत अहिरलाई भूमाफियाहरुले २०६७ फागुन १ गते मरेको कागज बनाई जिल्ला मालपोत कार्यालय पर्साबाट २०६८ साउन १२ गते जग्गा पास गरिएको खुलासा भएको हो ।
अहिरकी नक्कली श्रीमतीको रुपमा लाल चुनिया अहिरिनलाई देखाई भूमाफियाहरुले सो गाविसमा रहेको तीन कित्ता जमिन उनको नाममा सारेको जिल्ला मातपोत कार्यालय पर्साको अभिलेखमा उल्लेख छ ।
हालै सो जग्गा आफूले बिक्री गर्न खोजेपछि आफ्नो नाउँको जग्गा अरुको नै भएको र आफूलाई मृत घोषणा गरेको पाएको पीडित अहिरले गुनासो गर्नुभयो ।
उहाँले सो गाविसको वडा नम्बर–५ मा नै रहेको कित्ता नम्बर ३०,७० र ७२ लाई माफियाहरुले आफ्नो नाउँमा बनाएको पनि उहाँले बताउनुभयो ।
जग्गा नामसारी गर्दा गाविस सचिव उमेश राउतको किर्ते सही खडा गरिएको छ । आफ्नो किर्ते सही देखेर आफूलाई नै दुःखित बनाएको र ती व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कारवाहीको माग समेत उहाँले गर्नुभएको छ ।
जग्गाधनीको रुपमा खडा गरिएकी अहिरिनले २०६४ साउन १६ गते जिल्ला प्रशासन पर्साबाट ३४१०४९ नम्बरको नागरिकता बनाएको समेत देखिएको छ । सो विषयमा जिल्ला मालपोत कार्यालय पर्साका अधिकारीहरुले आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
आफ्नो जग्गा बिक्री गर्न खोजेपछि मात्रै आफ्नो नाउँको जग्गा अरुकै नाउँमा भएको आफूले थाहा पाएको पनि जग्गाधनी अहिरले बताएका छन् । आफ्नो जग्गा पुनः आफ्नै नाउँमा बनाइदिन आफूले जिल्ला मालपोत कार्यालयमा लिखित निवेदन दिएको पनि पीडितले बताएका छन् ।