


रुकुम, १६ पुस : जिल्लाको पश्चिमी क्षेत्र चौरजहारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा आर्थिक विषयलाई लिएर समितिका सदस्य एवम् कर्मचारीबीच कुटाकुट भएको छ । बैठक चलिरहेको अवस्थामा समितिका सदस्य हिमप्रसाद शर्माले लेखापाल विनय केसीलाई कुट्ने प्रयास गरेपछि केसीले उल्टै शर्मालाई कुटेका हुन् । एक अर्काबीचको कुटाकुटपछि घाइते भएका शर्माको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।
शर्मालगायतको समूहले नयाँ लेखापाल नियुक्ति गर्ने र अन्य केही सदस्यले केसीलाई नै निरन्तरता दिनुपर्ने भन्ने विषयमा विवाद बढेपछि हात हालाहालको अवस्था सिर्जना भएको अध्यक्ष टेकबहादुर गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार विनयले आफूले काम गरेको पारिश्रमिक दिए आफूले काम नगर्ने बताएपछि पारिश्रमिक दिन नहुने भन्दै हिमप्रसादले आक्रमण गरेका थिए ।
सोही विषयलाई लिएर नेकपा (एमाले) विजयश्वरी गाउँ कमिटी अध्यक्ष बलबहादुर रानाले आफूलाई पनि प्रहरीकै सामुन्ने हातपात गरेको अध्यक्ष गिरीले बताए ।
घटनाको विषयमा छलफल गर्न अहिले इलाका प्रहरी कार्यालय चौरजहारीले सर्वदलीय सर्वपक्षीय बैठक बोलाइएको छ ।
पञ्चवर्षीय योजनाअन्तर्गत चौरजहारीमा रु पाँच करोडको लागतमा खानेपानी योजना सञ्चालन भइरहेको छ । राजनीतिक असमझदारीकै कारण हरेक वर्ष आयोजनाको रकम फ्रिज हुने गरेको छ ।
गत आर्थिक वर्षमा मात्रै राजनीतिक दलकै कारण रु २६ लाख फ्रिज भएको थियो । दलीय प्रतिनिधित्व भएको उपभोक्ता समिति भएकै कारण समितिले सहज रुपले काम गर्न नसकेको दुःखेसोसमेत अध्यक्ष गिरीले गरेका छन् ।
राजनीतिक दलकै कारण आफ्नो क्षेत्रमा आएको रकम फ्रिज हुने क्रम नरोकिएको भन्दै स्थानीय उपभोक्ता आक्रोशित बनेका छन् ।