


दैलेख, १८ पुस : छोराले अन्तरजातीय विवाह गरेका कारण हत्या गरिएका दैलेखको तोली गाविस–२ धनीगाउँका सेते दमाईलाई शहीद घोषणा र राज्यका तर्फबाट उचित क्षतिपूर्ति दिलाउन दैलेखमा दलित नागरिक समाज संगठनहरुले सेते दमाई शहीद संघर्ष समिति गठन गरिएको छ ।
दलित अधिकारकर्मी एवं पत्रकार अमर सुनारको संयोजत्वमा गठित १७ सदस्यीय संघर्ष समितिले आज पत्रकार सम्मेलन गर्ने र भोलि ¥याली सहित प्रशासनमा गई प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ७ बँुदे ज्ञापनपत्र पठाउने निर्णय भएको छ । सात बँुदे मागमा सेते दमाईलाई शहीद घोषणा गरी सालिक राखिनुपर्ने, राज्यको तर्फबाट उचित क्षतिपूर्ति, उहाँका आश्रित परिवारलाई पालनपोषण तथा निःशुल्क उच्च शिक्षा, अन्तराजातीय विवाह गरेका उहाँका छोरा सन्तबहादुर दमाई र बुहारी राजकुमारी शाहीलाई स्थायी रोजगारी लगायतका माग राखिएको छ । पुस मसान्तसम्म पनि माग पूरा नभए राजधानी केन्द्रित चरणबद्ध आन्दोलन गर्ने संघर्ष समितिका संयोजक अमर सुनारले जानकारी दिनुभयो ।
छोराले अन्तरजातीय विवाह गरेका कारण बुहारीका माईती पक्षबाट गत भदौ १३ गते खुकुरी प्रहार भएपछि उपचारका लागि सुर्खेत पु¥याउदै गर्दा भदौ १४ गते उहाँको ज्यान गएको घटना जातीयता कारण दलित मारिएको पहिलो घटना भएपनि राज्यको तर्फबाट कुनै राहत तथा क्षतिपूर्ति नपाएको भन्दै दलित नागरिक समाजले आन्दोलन थालेका हुन् ।