


बाजुरा, १९ पुस : बाजुरामा २० प्रतिशतले २० वर्षभन्दा कम उमेरमा नै गर्भवती हुनेगरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्लामा महिला तथा किशोरकिशारीको प्रजनन स्वास्थ्यसम्बन्धी अध्ययन गर्ने ब्रिटेन नेपाल मेडिकल ट्रस्ट नामक संस्थाले सो तथ्याङ्क सोमबार सार्वजनिक गरेको हो ।
जिल्लाका २७ वटै गाविसका २५० भन्दा बढी महिला पुरुषलाई स्याम्पलिङ्ग गर्नेक्रममा सो तथ्याङ्क खुलेको हो । यसैगरी तथ्याङ्कमा १५ देखि १९ वर्षका किशोरीलाई रक्तअल्पता हुनेगरेको, वयस्क महिलाको तुलनामा किशोरी गर्भवती महिलाको मृत्युदर ४९ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
जिल्लामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नबस्ने, ग्रामीण क्षेत्रमा पर्याप्त मात्रमा औषधि नहुनु र बाजुराका २० प्रतिशत मानिसले एचआइभी÷एड्सबारे कुनै जानकारी नै नपाएको पनि तथ्याङ्कले देखाएको छ ।
जिल्लाको स्वास्थ्य क्षेत्रमा भएको गतिविधि र जिल्लास्तरमा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य र मानव संसाधनसम्बन्धी जानकारी गराउने उद्देश्यले एक दिवसीय गोष्ठीको आयोजना गरिएको ब्रिटेन नेपाल मेडिकल ट्रस्ट जिल्ला संयोजक घनश्याम कँडेलले जानकारी गराउनुभयो ।