


ताप्लेजुङ, १९ पुस : अलैँचीको गानो कुहिने, फल नपाक्ने रोगका कारण अलैँचीको गुणस्तरीयतामा कमी आएकाले प्रतिदिन अलैँचीको भाउमा कमी आएको छ । गत आर्थिक वर्षमा प्रतिमन प्रति ४० केजीको रु ८० हजारको हाराहारीमा पुगेको अलैँचीको भाउ अहिले रु ३० हजारमा बिक्री भइरहेको अलैँची कृषक सञ्जाल नेपालका अध्यक्ष शिव गुरुङले बताउनुभयो ।
हाल २५ प्रतिशत अलैँची मात्र बजारमा आएको उहाँले भन्नुभयो । गत आर्थिक वर्षमा यही बेला रु ६० हजारको हाराहारीमा भएको अलैँचीको भाउ यो वर्ष यही समयमा त्यसको आदि पनि भाउ कृषकले नपाएको उहाँले बताउभुयो ।
लेकको कालो सुन भनेर चिनिएको अलैँचीको भाउ तल माथि भइरहँदा अलैँचीका कृषक वर्षेनि चिन्तामा पर्ने गरेको अलैँची कृषक निमा शेर्पा बताउँछन् ।
अलैँचीको भाउ तलमाथि भइरहँदा भविस्यमा अलैँची नै बिक्री नहुने होकी भन्ने चिन्ता लाग्ने गरेको उनले बताएका छन् । यसैले गर्दा अलैँचीमा व्यावसायिक खेती गर्न शङ्का लाग्ने गरेको उनले बताएका छन् ।
केही वर्षयता अलैँची खेतीमा बढिरहेको विभिन्न सङ्क्रमणको कारण अलैँचीको भाउमा कमी आएको व्यापारीले बताउने गरेका छन् । व्यापारीको भनाई रहेको कृषकले बताएका छन् ।
नेपाल संसारमा नै सबैभन्दा बढी अलैँची उत्पादन हुने मुलुक पर्दछ । नेपालमा उत्पादित अलैँचीले विश्वको अलैँची बजारमा ७० प्रतिशत बजार लिने गरेको छ ।
ताप्लेजुङ जिल्लामा नेपालको सबैभन्दा बढी उत्पादन हुने गरेको छ । यो जिल्लामा उत्पादित अलैँचीले संसारको उत्पादनमा २० प्रतिशत बजार लिने गरेको छ ।
नेपालको ४१ जिल्लामा अलैँची भएपनि पूर्वी नेपालका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथर, इलाम, धनकुटा आदि जिल्लामा व्यावसायिकरूपमा अलैँची खेती हुने गरेको छ ।