


दमौली, २२ पुस : व्यास नगरपालिका– ७ पाटनस्थित मादी नदीको झोलुङ्गे पुलबाट हामफालेर एक वृद्धाले आत्महत्या गरेकी छन् । एकसट्ठी वर्षीया विष्णु रानाभाटले झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुलनजिकै कपडा भेटिएपछि ती वृद्धाले पुलबाट हामफालेर आत्महत्या गरेको अनुमान प्रहरीको छ ।
बिहीबार अपराह्न ५ बजे बेलवासमा ती बृद्धाको लास भेटिएको हो । स्थानीय बासिन्दाले लास देखेपछि प्रहरीमा खबर गरेका थिए ।
यसैबीच तनहुँको राहपुर– ४ भुस्नापुर निवासी एक दम्पतीलाई दुई महिलाले बुधबार राति बेहोस बनाइ नगद र सुनका गरगहना लुटपाट गरेका छन् ।
भद्रकुमार शाही र उनकी श्रीमती नीलकुमारी शाहीलाई खानेकुरामा लट्ठाउने औषधि हालेर बेहोस बनाई आठ हजार नगद र पाँच तोला सुनका गरगहना लुटेर लगेको इलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी निरीक्षक हरि शर्माले बताउनुभयो ।
राइपुर स्वास्थ्यचौकीमा उपचार गराएका ती दम्पतीको १७ घन्टापछि बिहीबार १ बजे मात्रै होस खुलेको थियो ।