


सुर्खेत - सुर्खेत जिल्लाको पश्चिमी क्षेत्रका गुटु र विद्यापुर गाविसमा पर्ने पर्यटकीयस्थलहरु प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । सदरमुकाम वीरेन्द्रनगरबाट ६० किलोमिटर टाढा रहेको प्रसिद्ध पञ्चपुरीमाईको मन्दिर, चमेरे गुफा, दहताल, चौकुने डाँडा, बादँरे गुफा, खारेपानी र कोट भन्ज्याङलगायतका पर्यटकीयस्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय बासिन्दाले बताएका छन् ।पञ्चपुरीमाईको मन्दिरदेखि अछाम, दैलेख, सुर्खेत र कैलालीका करिब ५० भन्दा बढी गाविसलाई सजिलै देख्न सकिन्छ ।
त्यस्तै चौकुने डाँडाको कुँआदेखि कर्णाली नदीको मनोरम दृश्यावलोकन, लालीगुराँसका रुखलगायत जिल्लाका अन्य पर्यटकीयस्थलसमेत सजिलै अवलोकन गर्न सकिन्छ ।
यसका अतिरिक्त तराईका समथर फाँट, विभिन्न हिमशृङ्खला, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन पनि यहाँबाट गर्न सकिन्छ । पर्यटकका लागि रमणीयस्थल भए पनि प्रचारप्रसार नहुँदा गुटु र विद्यापुर गाविस पनि ओझेलमा परेको गुटुका स्थानीय बासिन्दा देवबहादुर थापाले बताउनुभयो ।
सडकलाई प्राथामिकता दिए ती क्षेत्रको प्रचारप्रसार र गाविसको विकास पनि हुने थापाको भनाइ छ ।
यो डाँडाबाट पर्यटकका लागि प्याराग्लाइडिङ खेलको पनि सम्भाव्यता रहेको उहाँले बताउनुभयो ।