


बाजुरा, २७ पुस : बाजुराको हिमाली क्षेत्रमा केही दिनदेखि हिमपात भएपछि स्थानियबासिन्दा जाडो छल्न बेँसी झरेका छन् । जिल्लाका उत्तरी क्षेत्रमा पर्ने पाण्डुसैन, कोल्टि, रुगिन, दहकोट, बिच्छया वाईलगायतका ११ वटा गाविसका बासिन्दा बेँसी झरेका हुन् । गाउँमा एक दुई फिटभन्दा बढी हिमपात भएपछि जिल्लाको कोल्टि बाजुराको तल्लो भेगमा पर्ने बाह्रबिस कुल्देबमाण्डौ, बह्रमतोला र अछाम बसाई सरेका हुन् ।
उत्तरी क्षेत्रका गाविसमा हिउँदयाममा हिमपात र चिसो हुने भएकाले केही महिनाको लागि बेँसी झर्ने गरेको स्थानियबासिन्दाको भनाइ छ । जिल्लाको उत्तरी क्षेत्र, हुम्ला र जुम्ला बसोबास गर्ने अधिकांश जनजातिहरु केही महिनाको बसाई वेसीमा सार्ने गर्छन । बसाईसरेपछि त्यस क्षेत्रका विद्यालय फागुन महिनासम्म बन्द हुने गरेका छन् ।