


रुकुम, २७ पुस : आमा र बाबु दुवै जेलमा परेपछि तिनका चार सन्तान एक महिनादेखि बिचल्लीमा छन् । भलाक्चा–४ काफलबोटका देवसिंह रोका र उनकी पत्नी लक्ष्मी हत्या आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा छन् । उनीहरुमाथि गत भदौ ३ गते भालाक्चा गाविसस्थित वैरागी ठाँटी बजारमा स्थानीय विजय खड्काको हत्या अभियोग छ ।
जिल्ला अदालत रुकुममा उनीहरुको मुद्दा चलिरहेको कानुनव्यवसायी अधिवक्ता गणेश हमालले बताउनुभयो ।
रोका परिवार चार वर्षदेखि वैरागीठाँटी बजारमा होटल व्यवसाय गर्दै आएको थियो । दम्पत्ति नै जेल परेपछि होटलमा एक महिनादेखि ताला लागेको छ ।
चौध वर्षीया तिलसरा रोका, १२ वर्षीय लोकबहादुर, १० वर्षीया लालमाया र चार वर्षीया उर्मिला र ७५ वर्षीया अपाङ्ग हजुरआमा जसमादेवीको आश्रयमा छन् । जसमादेवी तीन वर्ष पहिले घरको बार्दलीबाट खसेर अपाङ्ग बनेकी हुन् ।
उनको शरीरको तल्लो भाग चल्दैन । शरीरको तल्लो भाग नचलेपछि उनलाई बोकेरै घरभित्र बाहिर गर्नुपर्छ ।
बाबुआमा जेल पर्नु पहिले यी बालबालिका खलङ्गा गाविसको सोलावाङमा रहेको बालकल्याण माध्यमिक विद्यालय अध्ययनरत थिए । तर, अहिले गाउँकै जनकल्याण माध्यमिक विद्ययालय भलाक्चामा स्थानान्तरण भएका छन् ।
तिलसरा कक्षा ६, लोकबहादुर कक्षा ४, लालमाया २ र उर्मिला शिशु कक्षामा अध्ययनरत छन् ।
आमाबाबु जेल परेपछि उनीहरुमा टोलाउने, चिन्ता गर्ने, पढाइमा समेत ध्यान दिन नसक्ने र अन्य बालबालिकासँग घुलमिल हुन नसक्ने लक्षण देखिएको छ ।
‘पहिलेको जस्तो हाँसखेल गर्न नै मान्दैनन्, आमाबाबुको माया कम नहोस् भनेर धेरै माया देखाउने गरेको छु, तर पनि एकैछिनमा फरक हुने गर्छन्’, हजुरआमाले भनिन्– ‘बुढेसकालमा सन्तोषले बाचौँला भनेको, छोराबुहारी जेल परे, नातिनातिनाको बेहाल देख्नुप¥यो ।’
बिचल्लीमा परेका नातिनातिनाको उद्धार र पढाइका लागि कुनै पहल गरिदिन सरकारी तथा गैरसरकारी निकायसँग अनुरोध गरेकी छन् ।