


जाजरकोट, २८ पुस : यातायात ब्यवसायीहरुको सिण्डिकेटका विरुद्ध तीन दिनदेखि संघर्षमा उत्रिएका जाजरकोटका विद्यार्थीको आन्दोलनमा विभिन्न पेशागत संगठनहरुले पनि समर्थन गरेका छन् । जाजरकोटमा रहेका भेरी गंगा र भेरी राप्ती यातायात ब्यवसायी संगठनको सिण्डिकेटका विरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।
यातायात व्यवसायीले सुर्खेतको छिन्चुदेखि जाजरकोटको खलङ्गासम्म सिन्डीकेट गरेको भन्दै बिरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबीच मंगलबार जाजरकोट सदरमुकाममा झडप भएको थियो । प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेको भन्दै विद्यार्थीले सोमबार देखि सिन्डिकेटको विरोधमा सदरमुकाम खलंगा बन्द गरेका हुन् ।
आन्दोलनका करण तीन दिनदेखि जाजरकोटमा यातायात, शिक्षण सँस्था र बजार बन्द छ । विभिन्न दल आवद्ध विद्यार्थीहरुले संघर्ष समिति बनाएर ब्यापारीको सिण्डिकेट विरुद्ध आन्दोलन गरेका हुन् ।