


बुटवल, २८ पुस : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान जारी गर्नुअघि नै शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभएको छ । बुटवलमा जारी एमालेको लुम्बिनी अञ्चलस्तरीय भेलामा नेता नेपालले एकीकृत नेकपा (माओवादी)लाई हतियारविहीन नबनाई संविधान जारी गरे फेरि पनि चुनावमा हतियारसहित जानुपर्ने स्थिति आउन सक्छ भन्नुभयो ।
सविधानसभाको निर्वाचनमा एमाओवादीलाई निःशस्त्र नबनाइकन जानु गल्ती थियो–उहाँले भन्नुभयो ।
मुलुकको जारी शान्ति प्रक्रिया एमाओवादीका कारण रोकिएको आरोप लगाउँदै नेता नेपालले एमाओवादीभित्रको उग्रपन्थी जडसूत्रवादले मुलुकलाई सङ्कटतर्फ धकेलेको जिकिर गर्नुभयो ।
सेना समायोजनको टुङ्गो लगाउने, सहमति गर्ने तर व्यवहार उल्टो देखाउने एमाओवादी नियत शान्ति प्रक्रियाप्रति सकारात्मक नभएको बताउँदै नेपालले भन्नुभयो–राष्ट्रिय सरकार गठन गर्ने काममा समेत एमाओवादीले अवरोध पु¥याएको छ ।
उहाँले मापदण्ड पुरा गरेका बाहेक अरु एमाओवादी लडाकुले नेपाली सेनामा प्रवेश नपाउने बताउनुभयो ।
एमाओवादीप्रति एकता, सङ्घर्ष र रुपान्तरणको अभियानलाई एकैसाथ अघि बढाइने पार्टी नीति रहेको स्पष्ट पार्दै नेता नेपालले भन्नुभयो–नेपाली काँग्रेसलाई पनि यथास्थितिबाट लोकतान्त्रिक परिवर्तनको बाटामा ल्याउन एमालेले नै भूमिका खेल्नुपरेको छ ।
उहाँले सामाजिक आर्थिक रुपान्तरणका लागि क्रियाशील रहेर सामाजिक न्यायको स्थापना गर्ने र राष्ट्रियताको सुरक्षा गर्ने कुरा जनताको बहुदलीय जनवादले मात्रै सम्भव हुने उल्लेख गर्दै त्यसका लागि सिङ्गो पार्टी पङ्क्ति एकढिक्का भएको दावी गर्नुभयो ।
भेलामा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले अब एमालेले आर्थिक–सामाजिक रुपान्तरणसहित नयाँ नेपालको नेतृत्व गर्ने बेला आएको बताउनुभयो ।
एमाओवादीले परिवर्तनका कुरा मात्रै गर्ने तर शान्तिका कुरा नगर्ने, काँग्रेसले शान्तिका कुरा मात्रै गर्ने तर परिवर्तनका कुरा नगर्ने उल्लेख गर्दै नेता ज्ञवालीले एमालेले शान्ति र परिवर्तनको मुद्दालाई एकसाथ अघि बढाएको बताउनुभयो ।
यी दुवै मुद्दा एमालेले समातेकाले अबको नेतृत्व पनि एमालेकै हुनुपर्छ, उहाँले दाबी गर्नुभयो । नेता ज्ञवालीले अतीतमुखी भएर होइन, भविष्यमुखी भएर अघि बढ्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।