


भक्तपुर, २८ पुस : आन्तरिक राजस्व विभागले भक्तपुरको सूर्यविनायकमा रहेको ओम शान्ति टेलरिङ्ग सेन्टरमा छापामारि शिलबन्दी गरेको छ । कार्यालयले सूवर्यविनायकका २ वटा पसल, कमल विनायकको गोदाम र एउटा घरमा छापा मारेको हो । झरीलाल मण्डलले ओम शान्ति नाममा टेलरिङ्ग सहित, सटिङ्ग सुटिङ्ग, सारी, कुर्ता, रेडिमेड, लेडिज प्रशिक्षण सेन्टर गरी ६ वटा फर्म सञ्चालन गर्दै आउनुभएको थियो ।
मासिक रुपमा लाखौं रुपैयाँको कारोवार गर्ने गरेपनि कुनै पनि फर्म मुल्य अभिवृद्धि कर अर्थात भ्याटमा दर्ता नभएको सूचना पाएकाले अनुसन्धानका लागि छापा मारिएको राजस्व कार्यालयले जनाएको छ । आन्तरिक राजस्व विभाग ललितपुरका काजिबाबु कोइरालाको नेतृत्वको टोलीले छापा मारी कागजपत्रहरु र कम्प्युटरका सिपियूलगायतका सामग्री नियन्त्रणमा लिएको छ ।
सञ्चालक मण्डलले भने मासिक रुपमा झण्डै ५ लाख रुपैयाँको कारोवार हुने गरेकोले फर्म भ्याटमा दर्ता नभएको बताउनुभयो । उहाँले आफूले भ्याटमा दर्ता गर्ने प्रकृया थालिसकेको पनि बताउनुभयो ।