


जनकपुरधाम, २९ पुस : सीमावर्ती भारतीय बजारबाट निर्वाध रुपमा लागुऔषध आउने गरेकाले जनकपुर लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा विकसित हुँदैछ । सीमावर्ती भारतको पिपरौन, उवगाउँ, सीतामढीलगायत बजारमा यहाँका युवा लागुऔषध नाइट्रोसन, एस्यास्को, फोर्टविन, कोरेकस, लुपिकम, फेन्सिडिल, रेसकमजस्ता लागुऔषध सेवन गर्नुका साथै लिएर समेत आउने गरेको छ ।
युवाहरुले यस्ता लागुपदार्थ भएको औषधि खुलेआम ल्याएर जनकपुरका औषधि व्यापारीलाई समेत दिने गरेको प्राप्त समाचारमा जनाइएको छ ।
सीमावर्ती मटिहानी, लग्मालगायत नाकामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीकोसमेत लापरबाहीका कारण त्यस्ता औषधि खुलेआम नेपाल भित्रिने गरेको नगराइन–३ का राकेशकुमार कर्णले बताउनुभयो ।
भारतमा खुलेआम बिक्री हुने यस्ता औषधि नेपाल भित्रिन नदिन सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले कडाइ गर्नुपर्ने माग अभिभावकको छ ।